मालपोत कार्यालय कास्कीबाट किर्ते गरी जग्गा नामसारी गर्न खोज्ने आमा छोरा पक्राउ, मुख्य योजनाकार फरार

Share:

गोकुल बानियाँ , पोखरा, १९ चैत्र । जिल्ला मालपोत कार्यालय कास्कीबाट अर्केको नाममा रहेको जग्गा किर्ते गरी नामसारी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले किर्ते कागजात तयार पारी जग्गा नामसारी गर्न खोज्ने दुई जनालाई बुधवार पक्राउ गरेको हो ।

पोखरा–१७ विरौटामा रहेको ६ रोपनी दुई आना, दुई पैसा, दुई दाम जग्गा किर्ते गरी आफ्नो नाममा गर्न खोज्ने गंगा माया कार्की र उनका छोरा टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप बास्ती भण्डार गाविस वडा नं ८ घर भएकी गंगाले जग्गा धनी कृति कुमार वाटाजुको नक्कली श्रीमती बनी जग्गा नामसारी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए ।

जग्गा हात पार्न ७० बर्षीय गंगाले २५ बर्षिय छोरा टेक बहादुरको सहायतामा आफु कृति कुमारको श्रीमती हर्ष माया रहेको भन्दै आवश्यक सम्पूर्ण कागजात तयार पारेकी थिइन् । बुधवार दिउसो मालपोत कार्यालयमा नामसारीको लागि पेश गरिएको कागजात माथि शंका लागेपछि कार्यालयका कर्मचारीले प्रहरीमा खबर गरेका थिए । सोहि सुचनाको आधारमा कास्की प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुले जग्गा नामसारीको लागि मालपोतमा पेश गरेका सबै कागजात नक्कली रहेको पाईएको छ । प्रहरीका अनुसार पोखरा –४ गणेशटोलका कृति कुमार बाटाजुको मृत्यु दर्ता, उनको श्रीमति हर्षमायाको नाममा नक्कली नागरिकता, उनकी छोरी रुक्मिणी बाटाजु संगको नाता कायम प्रमाणपत्र, नगरपालिकाको सिफारिस लगायतका सबै कागजात किर्ते रहेको खुल्न आएको छ ।

‘नगरपालिकाबाट पठाइएको सिफारिसमा कार्यकारी अधिकृत महेश बराल लेख्नु पर्नेमा महेश बढाल लेखिएको थियो ’ मालपोतका एक कर्मचारीले भने, ‘ शंका लाग्यो, फेरी कार्यकारी चैत १२ गते सरुवा भएका थिए तर चैत १८ गतेको सिफारीसमा उनको नाम र सही भएपछि प्रहरीलाई खवर गरेका हौ ’ ।

कृति कुमारको २०६९ चैत्र २ गते निधन भएको थियो भने उनकी श्रीमति हर्षमायाको २० दिन पछि चैत्र २२ गते निधन भएको थियो । तर मृतक हर्ष मायाको नाममा गंगामायाको फोटो टासेर नक्कली नागरिकता बनाई कृति कुमारको श्रीमति साबित गर्दै जग्गा नामसारीको कृते काम हुन लागेको थियो ।

मालपोतको काममा ढिलाई भएपछि जग्गा नामसारीको लागि गएका आमा छोरा बाहिरिएका थिए । मालपोतमा पेश भएको कागजात छानबिन पछि नक्कली रहेको प्रमाणित भएपछि खटिएको प्रहरी टोलीले लेकसाईडको एउटा होटलबाट गंगामायालाई साझ पक्राउ गरेको थियो हो । आमाको बयानको आधारमा छोरा टेक बहादुरलाई पनि पृथ्बीचोकको एउटा होटलबाट राति नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक पालले बताए ।

पक्राउ परेका दुबै जनालाई बिहिवार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनिहरुलाई सरकारी छाप किर्ते तथा ठगी मुद्धामा कारबाही हुने प्रहरी निरिक्षक देवि पौडेलले जानकारी दिए ।

गंगामाया र टेक बहादुरलाई प्रयोग गरी जग्गा किर्ते गर्न लगाउने मुख्य अभियुक्त भने फरार रहेका छन् । पक्राउ परेका आमा छोराका अनुसार उनिहरुले झण्डै २० करोड रुपैया मुल्य बराबरको जग्गा कृते गरी पास भएमा ४० लाख रुपैया दिने प्रलोभन दिएका थिए । घटनाका मुख्य अभियुक्त रमेश जिरेल र गणेश परिवारले उनिहरुलाई प्रयोग गरी जग्गा किर्ते गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

किर्ते कामको लागि उनिहरुले जग्गाधनी बाटाजुको बारेमा सम्पूर्ण जानकारी लिई प्रक्रिया सुरु गरेका थिए । यहि कामको लागि काठमाण्डौमा रहेका काठमाण्डौमा रहेका उनिहरु पोखराको ड्यामसाईडमा आएर बसेका थिए । चैत्र १४ गतेदेखिको प्रयासमा १८ गते बुधवार सम्म सबै नक्कली कागज बनाई मालपोतमा पेश गरेको खुल्न आएको छ ।

बाटाजुको घरमा एक बर्ष अघि उनिहरु सोहि जग्गा किन्नको लागि भन्दै गएका थिए । चार पटक सम्म सोहि जग्गा खरिदको लागि भन्दै गएका उनिहरुलाई बाटाजु परिवारले बिक्रि नगर्ने भन्दै फर्काइदिएका थिए । सोहि अबधिमा उनिहरुले बाटाजु र उनको जग्गाको बारेमा सबै जानकारी प्राप्त गरेको स्रोतले बताएको छ ।

फरार रहेका मुख्य योजनाकारको खोजीको लागि प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरिक्षक पालले बताएका छन् । यसअघि २०७० मंसिरमा स्याङजा जगतभञ्ज्याङका रंग प्रसाद श्रेष्ठको पोखरा–८ जाल्पारोडमा रहेको ११ आना जग्गा काभ्रेका कृष्ण बहादुर श्रेष्ठले आफु रंग प्रसाद बनी अर्कालाई बिक्रि गरेको घटना सार्बजनिक भएको थियो ।

यस्तै दुई बर्ष अघि पोखराको लेकसाईडमा शान्ति राणाको जग्गा नुवाकोटकी आशा माया लामाले आफै शान्ति राणा बन्दै अर्कालाई बेच्न खोज्दा पक्राउ परेकी थिईन् । उनिहरु अहिले जेलमा छन् । तर सो घटनाको मुख्य अभियुक्त अझै सम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: