
म्याग्दी : रघुगङ्गा गाउँपालिका–१ बेगमा सामुदायिक ‘होमस्टे’ (घरबास) सञ्चालन गरिएको छ ।
गाउँमा भ्रमण गर्न आउने पाहुनाको सुविधाका लागि बेगका बासिन्दाले सामुदायिक घरबास सञ्चालन गरेका हुन् । बेग सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष नरसिंह पुनले १० घरमा घरबास सुविधा रहेको जानकारी दिए ।
“दश घरमा ५० जना पाहुना राख्न सकिन्छ”, उनले भने, “गाउँमा आउने पाहुनाको सुविधा, रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन होमस्टे चलाएका हौँ ।” पाहुनालाई राख्नका लागि घरमा छुट्टै कोठा, आधुनिक शौचालय, सयनकक्ष बनाउनुका साथै घरवरपर सरसफाइ गरिएको छ ।
गाउँमा आउने पाहुनालाई कोदोको रोटी, ढिँडो, लोकल कुखुरा, भेडा, खरायोको मासु, मुला र भाँगोको अचार चखाउने गरिएको घरबास सञ्चालक टीका थजालीले बताइन् । पुन, थजालीसहित दुर्गा गर्बुजा, कुमार गर्बुजालगायतका घरमा घरबास सञ्चालन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको जीविकोपार्जन सुधार कार्यक्रमले घरबाससम्बन्धी तालिम र भ्रमण गराएको थियो । दोस्रो विश्वयुद्धमा बहादुरी प्रदर्शन गरेबापत बेलायत सरकारबाट भिक्टोरिया क्रस पदक पाएका स्वर्गीय तुलबहादुर पुनको जन्मथलो बेग र बादुक जोड्ने ठाउँमा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल छ ।
बेनी–जोमसोम सडकको बेगखोला खण्डदेखि २० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिने बेगबाट अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । बेगदेखि एक घन्टाको पैदलयात्रामा पुगिने भेडिओडार र रुइसेबाट हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ ।
यहाँ मगर समुदायको पुर्ख्यौली नाच देखाएर पाहुनाको स्वागत गर्ने चलन छ । बेगखोला संस्कृति र प्रकृतिको सङ्गम रहेको तथा त्यहाँ हालै तीन दिने गोष्ठी सञ्चालन गरिएको बेनीको भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।
“शान्त र एकान्त वातावरणमा मगर संस्कृति, आतिथ्यता र स्थानीय खानाका परिकारको स्वादमा रमाउन पाइन्छ”, उनले भने, “तालिम, गोष्ठी, बैठक सञ्चालन गर्नका लागि पनि बेगखोला उपयुक्त छ ।”
रघुगङ्गा–१ का वडाअध्यक्ष बिलबहादुर फगामीले लामो र अग्लो झोलुङ्गे पुल, बेग गाउँ र रुइसे–भेडिओडारलाई समेटेर पर्यटन प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा जोड दिइएको बताए । लामो पुलदेखि बेगखोलासम्म पदमार्ग र पुल नजिकै उद्यान बनाइएको उनले बताए ।
