
काठमाडौं, चैत्र १९ । केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल सबाब’का बन्दुकधारीहरुले गरेको आक्रमणमा कम्तिमा १५ जना मारिएका छन् भने ६५ भन्दा बढी घाइते भएका छन् ।
बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्ध आक्रमण गरेकाले मारिनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अल कायदासँग सम्बन्ध रहेको अल शबाबका कम्तिमा ५ जना बन्दुकधारीले विश्वविद्यालयमा धावा बोलेका थिए ।

अल शबाबले मुस्लिम विद्यार्थीलाई छाडेर क्रिश्चियनहरुलाई बन्धक बनाएको जनाएको छ । बन्धकलाई दुई समूहमा विभाजन गरी मुस्लिम विद्यार्थीलाई छाडेको समूहका प्रवक्ताले जानकारी दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
केन्याका आन्तरिकमन्त्री जोसेफले भाग्न खोजेको एकजना बन्दुकधारीलाई मारिएको बताएका छन् । उनले विश्वविद्यालयमा रहेका ८ सय १५ विद्यार्थीमध्ये अझै ५ सय ३५ जनाको अवस्था थाहा हुन नसकेको बताए ।
सुरक्षाकर्मीले विश्वविद्यालयलाई घेरा हाली कारबाही अगाडि बढाइरहेको बताइएको छ । सोमालियासँगको सीमा जोडिएको गारिसामा सोमाली अल सबाब लडाकूले लगातार आक्रमण गर्दै आएको छ ।
