
काठमाडौं, चैत २० – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्ष २०७० सालमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको छ । संघले शुक्रबार काठमाडौमा एक समारोहबीच विभिन्न १९ खेलका खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
फुटबलमा अनिल गुरुङ, ह्याण्डबलमा अमर श्रेष्ठ, हक्कीमा दिपेन्द्र ऐरी, लन टेनिसमा विभूति कार्की, टेबल टेनिसमा नविता श्रेष्ठ र तेक्वान्दोमा ज्ञानी चुनाराले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड पाए ।
यस्तै जुडोमा सुनिता बोहरा, जिम्न्याष्टिमा राजु राई, कब्बडीमा नवल रावल, भारोत्तोलनमा कमल अधिकारी र बुद्धिचालमा केशव श्रेष्ठले अवार्ड जिते ।
साइक्लिङमा अजय पण्डित, आर्चरीमा प्रेमप्रसाद पुन, ब्याडमिन्टनमा रत्नजित तामाङ, बक्सिङमा सरस्वती राना मगर, कराँतेमा अनु अधिकारी, भलिबलमा सरस्वती चौधरी, सुटिङमा श्रेया केसी र एथ्लेटिक्समा दिलमाया कार्की पनि उत्कृष्ट खेलाडी चुनिए ।
उनीहरुलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा र खेलकुद सचिव दिपेन्द्रनाथ शर्माले अवार्ड वितरण गर्नुभयो ।
उत्कृष्ट वर्ष खेलाडी घोषित सबै खेलाडीले जनही १० हजार रुपैया“ प्राप्त गरे । त्यस्तै गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कार धावक बैकुण्ठ मानन्धरलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
