म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु

Share:

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् ।

म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पुर्या‍एको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।

उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए ।

“त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले एएफपीसँग भने ।

आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् ।

न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: