बन्दको सर्वत्र विरोध भैरहँदा भोलि र पर्सिको बन्द फिर्ता

361
0
Share:

काठमाडौ, चैत्र २४ – बन्दको सर्वत्र विरोध भैरहँदा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको भोलि र पर्सिको बन्द फिर्ता लिएको छ । पहिलो दिनको बन्दको समिक्षा गर्न मंगलबार साँझ सिंहदरवारमा बसेको मोर्चाको बैठकले बाँकी दुई दिनको बन्द फिर्ता लिने निर्णय गरेको हो ।

मोर्चाका प्रवक्ता समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहले जनसमूदाय, उद्योगी र यातायात व्यवसायीको सुझावका आधारमा बन्द फिर्ता लिने निर्णय लिइएको बताए । उनले पहिलो दिनको बन्दमा जनताले दिएको साथप्रति मोर्चाले धन्यवाद प्रकट गरेको र बन्दले जनतालाई पुग्ने कठिनाईलाई ध्यानमा दिएर बन्द फिर्ताको निर्णयमा बैठक पुगेको बताए । २७ गते बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने सिंहले जनाए ।

बैठक स्रोत अनुसार पहिलो दिनको बन्दको समिक्षा र बन्द नगर्न परेको दवाब बारे मोर्चा संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बि्रफ गर्दै तीन दिनको बन्दलाई छोट्याउनुपर्ने प्रस्ताव राखेका थिए । दाहालको उक्त प्रस्तावलाई सधाझैं फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले समर्थन गरेपनि मधेसी दलका कतिपय अन्य नेताले कडा प्रतिवाद गरेका थिए । आन्दोलन बढ्न लागेको बेला त्यसलाई रोक्न नहुने उनीहरुको भनाई थियो । दाहालले नागरिक समाज,उद्योग वाणिज्य संघ लगायतको आग्रहलाई मध्यनजर राख्दै बन्द फिर्ता लिनु अहिलका लागि उचित हुने आफ्नो प्रस्तावमा बैठकमा सहभागी बहुसंख्यक दललाई मनाउन सफल भएपछि बैठकले अन्तिममा बन्द फिर्ताको निर्णय लिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: