पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण सत्र जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Share:

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ ।

उद्धार विभाग (रेस्क्यु–११२२) का अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा बढी २९१ मिलिमिटर वर्षा हुँदा करेन्ट लागेर, डुबेर र भग्नावशेषमा पुरिएर ती व्यक्तिको मृत्यु भएको हो ।

उद्धार विभागका अनुसार बुधबार साँझ शहरको मिश्री शाह क्षेत्रमा भारी वर्षाका कारण घरको छाना भत्किँदा एक दम्पती र उनीहरूका दुई छोरासहित चार जनाको परिवारको मृत्यु भएको हो ।

लाहोरको थोकर सन्नी पार्क क्षेत्रमा वर्षाको पानीमा डुबेर एक ११ वर्षीय बालकको मृत्यु भएको छ भने एक महिलासहित चार जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार र बिहीबारको वर्षाका कारण सहरी क्षेत्रमा बाढी आएको छ भने धेरै क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार शहरका अधिकांश सडक र ‘अन्डरपास’हरू वर्षाको पानीले डुबानमा परेकाले आवागमन गम्भीर अवरोध उत्पन्न भएकाले उच्च सतर्कतामा मेशिनरी र कर्मचारीहरूको साथ स्थितिको अनुगमन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: