छतमा पंक्षीपालन गर्दै उमाकुमारी

Share:

पाल्पा : मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिँदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पंक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेकी छिन्।

पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गरेकी हुन् । उमाकुमारीले छतमा स्थानीय जातका कुखुरा, कालिज, लौकाट, बट्टाईजस्ता  पक्षीपालन गरिरहेकी छिन् । “ठूलो सङ्यामा यो व्यावसाय छतमा सुरु गरेको दुईवर्ष भयो । व्यवसाय गर्ने हो भने जग्गा जमिन नै चाहिदैन, जाँगर र मेहनत भयो भने घरका छत, करेसाबारी सदुपयोग गरेर पनि कमाइ गर्न सकिन्छ” उनले भनिन्,“मैले बेझाड बजारको तीन तलामाथिको छतमा पक्षी व्यवसाय र तरकारी खेती गरिरहेको छु, उत्पादन पनि राम्रै भइरहेको छ ।”

हाल उमाकुमारीको घरमा स्थानीय जातको कुखुरा एककिलोदेखि डेढकिलोसम्म चार सयवटा, ठूला एक सयवटा (चल्ला उत्पादनका लागि, अण्डा दिने), कोइलर कुखुरा चल्ला उत्पादनका लागि ५० वटा, कालिज ठूलो माउ पाँच र साना बच्चा ३०, लौकाट पाँचवटा माउ र चल्ला १५ वटा, बट्टाई तीनवटा माउसहित एक सय ५० रहेको छ ।

स्थानीय जातको कुखुरा प्रतिकिलो रु आठसय, ब्रोइलर कुखुरा प्रतिकिलो रु पाँच सय, कालिज भाले रु दुई हजार पाँच सय र पोथी रु दुई हजार, लौकाट रु एक हजार, बट्टाई रु दुई सयमा बिक्री भइरहेको उनले बताइन् । बजारमै व्यवसाय भएकाले बिक्रीका लागि समस्या नभएको हुँदा पक्षीपालनलाई जोड दिइएको हो । चल्ला उत्पादन गर्ने र बिक्री गर्ने मुख्य उद्देश्य लिएर व्यवसाय थालनी गरिएको उमाकुमारीको भनाइ थियो।

आफ्नै घरमा ह्याचरी मेसिन बाट चल्ला उत्पादन गरी उनले  बिक्री गर्दै आउनुभएको छ । एक महिनामा चार सय चल्ला बिक्री हुने गरेको छ । स्थानीयस्तरमा नै चल्ला खपत भइरहेको छ । छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा रु पाँच लाख बराबरको आम्दानी हुँदै आएको छ ।

 

“घरमै ह्याचरी मेसिन राखेर चल्ला उत्पादन गर्न थालिएपछि धेरै फाइदा हुँदोरहेछ, घरको छतभरी कुखुरा, कालिज, लौकाट, बट्टाईमध्ये कोही बिक्री गर्न लायकका छन् भने केही चल्ला हुर्कदैछन्, केही जन्मने बेला भएका छन्, यो देख्दा धेरै रमाइलो लागिरहेको छ”, उमाकुमारीले भनिन् ।

ह्याचरी मेसिनबाट चल्ला उत्पादन गर्नुअघि उनले काठमाडौंबाट चल्ला खरिद गरेर व्यवसाय चलाउथिन् । बाहिरबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँदा खासै फाइदा नभएपछि घरमै ह्याचरी मेसिन ल्याएर चल्ला उत्पादन गरी बिक्री गर्दा धेरै फाइदा हुने गरेको उमाकुमारीको भनाइ थियो। उनले खाली समय सदुपयोग गर्न इन्टरनेटको सहायताबाट अध्ययन गरेर व्यवसाय सुरु गरेको बताइन् ।

यस व्यवसायबाट धेरै सन्तुष्ट रहनुभएकी उमाकुमारीले पक्षीको मल सदुपयोग गर्न घरको आडैमा रहेको रामतुलसी नमुना माविको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी, धान, मकैलगायत बाली लगाउँदै आएकी छिन् । छतका छेउमा कुरिलो, खुर्सानी खेती पनि छ । चारवर्ष अघिदेखि  रामपुरमा उनले पहिलो व्यवसायीका रुपमा एक सयवटा बट्टाईपालन सुरु गरेकी थिइन् । बट्टाईबाट आम्दानी राम्रो हुने सम्भावना देखेपछि छतमा खोर विस्तार गरी कुखुरा, लौकाट, कालिज पनि  व्यावसायिकरूपले पाल्न थालिएको उमाकुमारीले बताइन् ।

विसं २०५५ मा रम्भा गाउँपालिका–५ वीरकोटबाट रामपुरको मुख्य बजार बेझाड बजारमा किराना व्यापार गर्न साथमा रु १५ हजार रकम लिएर आएकी उनले अहिले आएर धेरै सफलता हात पारेकी छिन् । आफ्नो मेहनत, जाँगर र सीपले उमाकुमारीले  बेझाड बजारमा तीन तलाको घर खरिद गरेकी छिन् भने तीन छोराछोरीलाई काठमाडौंमा राखेर उचित शिक्षा दिँदै आएकी छिन् ।

“श्रीमान् परदेशमा साना बालबच्चा काखमा लिएर आयआर्जन गर्ने अभिलाषा बोकेर रामपुर बजार आएँ, रामपुर आउन परिवार र आफन्तले साथ दिएका थिएनन्। , मेरो जोडबलले केही गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ आएको र अहिले राम्रै गरेजस्तो लाग्छ”,  उनले सुनाइन् ।

एसएलसी उत्तीर्ण गरेकी उमाकुमारीको अहिले रामपुरका विभिन्न सामाजिक संघ संस्थामा सक्रियता पनि उत्तिकै छ ।

कमेन्ट गर्नुहोस्
Share: