
काठमाडौं, चैत २८ । अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको सम्झनामा भएको मैत्रीपुर्ण खेलमा नेपाली रातो टिम एक रनले विजयी भएको छ । १ सय ६४ रनको लक्ष्य पछ्याएको निलो टिमलाई १ सय ६२ रन मात्र बनाउन दिँदै नेपाली रातो टीमले एक रनको रोमाञ्चक जित हात पारेको हो ।
निलो टिमका लागि महेश क्षेत्रीले ५७ रन बनाएपनि जिताउन सकेनन् । पहिले ब्याटिङ गरेको रातो टिमले ३१ ओभर ३ बलमा १ सय ६३ रन बनाएको थियो । उसका लागि शरद भेषावकरले अर्धशतक पुरा गरे ।
क्रिकेटर ह्युजको सम्झनामा नेपाल क्रिकेट संघ क्यानले ६३ ओभरको मैत्रीपुर्ण क्रिकेट आयोजना गरेको हो । मैत्रीपुर्ण खेलका लागि अष्ट्रेलियाबाट ४ जना खेलाडी आएका थिए । नेपाली टोलीका पूर्व कप्तान विनोद दासले शनिबार आफ्नो क्रिकेट खेलेका छन् । यसअघि नै सन्यास घोषणा गरेका दासले अन्तिम खेल खेलेका हुन् ।
निलो टोलीको कप्तानी नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले गरेका छन् भने रातोको कप्तानी अष्ट्रेलियन क्रिकेटर रायन कार्टरले गरेका थिए । निलो टोलीमा कप्तान विनोदसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, करण केसी, नरेश बुढाएर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी रहेका थिए ।
त्यस्तै रातो टोलीमा अष्ट्रेलियाका पूर्व क्रिकेटरहरू टीम एन्डरसन र म्याथु इलियन पनि छन् । रातो टोलीमा नेपाली क्रिकेटर शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाहीले अष्ट्रेलियाको टोलीबाट खेले ।
