
नवराज ढुङ्गाना-
पोखरा, २९ चैत-
फेवाताल किनार बसुन्धरा पार्कमा हिजोदेखि सुरु भएको १२ औं फेवा नव वर्ष महोत्सवमा आजपनि विभिन्न कार्यक्रम हुँदैछन् । महोत्सवमा आजको मुख्य आकर्षण डुङ्गा दौड रहेको छ भने अन्य साँस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।
यसैगरी, नाचगानका कार्यक्रम, भजन चु्ड्का, लोकदोहोरीका कार्यक्रम, आमा समूहको नृत्य, हाँश्यव्यंग्यका कार्यक्रम र लाइभ ब्याण्डको प्रस्तुती पनि रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । साँस्कृतिक तथा गायनतर्फ आज बद्रि पंगेनी, टेकवहादुर क्षत्री, बद्रि पराजुली, सम्झना लामिछाने मगर, रतिमाया खड्का, चन्द्रा कार्की, लक्ष्मी सुबेदी र मनोज गजुरेलले दर्शकलाई मनोरञ्जन दिनेछन् ।
नेपाली संस्कृति र फेवा तालको संरक्षण गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा सुरु भएको महोत्सव महोत्सव वैशाख २ गतेसम्म चल्नेछ ।
