
म्याग्दी : बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज (बुधबार) उद्धार गरिएको छ। बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भीरमुनिका ५० वर्षीय विकको उद्धार गरिएको हो।
बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन्।
‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो। धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो,’ उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनःस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ।’
शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको थियो। छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससले समाचार सार्वजनिक गरेको थियो।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो।’
उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए। सो ओडार बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ। सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ।
काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए।
‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो,’ उनले भने, ‘काम गर्न सक्दिनँ‚ मलाई यहीँ ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन।’
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सीधै छिर्छ। मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो।
