नाइजरका सैनिक अधिकारीद्वारा आफूलाई देशको नयाँ नेता घोषणा

Share:

नाइजरका सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् । जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी दिएका छन् ।

 

सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहेका जनरल अब्दुरहामाने त्चियानीले राष्ट्रिय टेलिभिजनबाट मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्षसमेत बनेको घोषणा गरेका छन् । सार्वजनिक जीवनबाट टाढै रहेका पाँच दशकको उमेरका उनले जिहादीको आक्रमण र  रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विप्लव गरेको तर्क गरेका छन् ।

 

आतङ्कवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने उल्लेख गर्दै जनरल अब्दुरहामाने त्चियानीले उनीहरूको सुरक्षा दृष्टिकोण र दायरामाथि प्रश्न गरेका छन् । साथै उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तरराष्ट्रिय निन्दाको परबाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी दिएका छन् ।

 

लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहीहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: