निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन

132
0
Share:

बैतडी : दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि ५ करोड लगानी भइसकेको चन्दले बताए । उनका अनुसार फार्ममा हाल १५० उन्नत जातका बाख्रा छन् ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उनले बताए । उक्त बोकाको तौल १८० किलो छ ।

चन्दले भने, ‘५/६ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।’

उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।

‘बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, चन्दले भने, ‘अहिले सिरोही, तोतापरीलगायत ५/६ उन्नत जातका गरी १५० बाख्रा छन् ।’

कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले ६ जनालाई रोजगारी दिएका छन् । उनका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित ६ जनाले रोजगारी पाएका छन् । ‘यहाँ भएका बाख्राको बिहान नियमित रूपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ,’ उनले भने ।

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्
Share: