
काठमाडौं, वैशाख १ / जाजरकोटका विभिन्न गाविसमा फैलिएको रोगका कारण मंगलबार थप ४ जनाको ज्यान गएको छ । यो सँगै ज्यान जाजरकोटमा ज्यान जानेको संख्या १६ पुगेको छ ।
मंगलबार टालेगाउँ गाविसको वडा नम्बर ३ की लक्ष्मी नेपाली, वडा नम्बर ५ की धनकला दमाईं, वडा नम्बर ६ का हस्ते कामी र वडा नम्बर २ की महेश्वरा सिंहको ज्यान गएको स्वास्थ्य चौकी टालेगाउँका अहेब पेम्बा दोर्जे लामाले जानकारी दिनुभयो । रोगका कारण टालेगाउँ, पैंक, कालेगाउँ अर्छानी, पजारु, नायकवडा र रोकाया गाविस बढी प्रभावित भएका छन् ।
त्यहाँका दैनिक १ सयदेखि डेढसयसम्म बिरामी उपचारका लागि आउने गरेको अहेब लामाले बताउनुभयो । २ हप्तादेखि फैलिएको रोगका कारण यसअघि नै १२ जनाको ज्यान गएको थियो ।
मृतक केहिलाई स्वाइन फ्लु
जाजरकोटमा फैलिएको रोगबाट ज्यान गुमाउने केहिमा स्वाइन फ्लु भएको पुष्टि भएको छ । ज्यान गुमाउनेमध्ये ३ जनाको नमूना परिक्षणका क्रममा स्वाइनफ्लु भएको पाइएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
तर मध्यपश्चिमका क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर राजेन्द्र पन्तले भने जाजरकोमटा मौसमी रुघाखोकी फैलिएको बताउनुभयो । काठमाडौंमा गरिएको बिरामीको नमुना परिक्षणबाट मौसमी रुघाखोकी भएको पुष्टि भएकोस्वाइनफ्लु वर्गमा पर्ने कमजोर भाइरस भएकाले आत्तिनुपर्ने अवस्था नरहेको डाक्टर पन्तले जानकारी दिनुभयो ।
सावधानि अपनाउन सुझाव
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले चिसोबाट बच्न, रुघा लागेका व्यक्तिले सावधानी अपनाउन, उपचार तथा सरसफाइमामा हेलचक्र्याईं नगर्न साथै बिरामी र हेरचाह गर्ने व्यक्तिले रोग सर्न नदिन सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा औषधिको व्यवस्था गरिएको र जनचेतामूलक कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो ।
Photo : ekantipur.com
