
काठमाडौं, वैशाख १ / चालु आर्थिक वर्षको आठ महिनामा महँगी केही घटेको र सरकारी बजेट बचतमा रहेको छ । त्यसैगरी नगद प्रवाहमा आधारित सरकारी बजेट ५० अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालु आवको आठ महिनाको तथ्याङ्कमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ दशमलव ५ तथा उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत रह्यो । अघिल्लो वर्ष त्यही अवधिमा बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ३ र उपभोक्ता मुद्रास्फीति ८ दशमलव ९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकाङ्क ८ दशमलव ४ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ६ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क शुन्य दलमलव ८ प्रतिशतले घटेको छ ।
सरकारको राजस्व परिचालन १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २ सय ४१ अर्ब २६ करोड पुगेको तथा सरकारलाई वैदेशिक नगद ऋणवापत ६ अर्ब २९ करोड र वैदेशिक नगद अनुदानवापत १५ अर्ब ७१ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । बितेका आठ महिनामा समग्र शोधनान्तर स्थिति ३५ अर्ब ७ करोडले बचतमा रहेको तथा चालु खाता ११ अर्ब ६५ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा यो खाता ६८ अर्ब ४१ करोडले बचतमा रहेको थियो । वस्तु तथा सेवा आयात बढ्नु, निर्यात तथा अनुदान घट्नु र विप्रेषण आप्रवाह न्यून दरले बढ्नाले समीक्षा अवधिमा चालू खाता न्यून बचतमा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर बचत ३५ करोड १० लाख डलर रहेको छ भने चालू खाता बचत ११ करोड ३८ लाख डलर रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर बचत १ अर्ब ३ करोड डलर र चालू खाता बचत ६८ करोड ७७ लाख डलर थियो । आर्थिक वर्ष २०७१÷७२ को आठ महिनासम्ममा कुल वस्तु निर्यात ६ दशमलव ६ प्रतिशतले घट्न गई ५६ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको तथा मासिक रुपमा चालू आर्थिक वर्षको फागुन महिनामा कुल वस्तु निर्यात माघ महिनाको तुलनामा १ दशमलव ७ प्रतिशतले घटेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको आठ महिनासम्ममा २१ दशमलव ९ प्रतिशतले बढेकामा समीक्षा अवधिमा ९ दशमलव ९ प्रतिशतले घटेको छ ।
अलैंची, जिंकसीट, लत्ताकपडा, जुटका सामानलगायत वस्तुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको यही अवधिमा १२ दशमलव ६ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ९ दशमलव ३ प्रतिशतले बढेको छ । प्रशोधित छाला, तयारी पोशाक, चाउचाउलगायत वस्तुहरूको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो ।
यसैगरी फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७१ असार मसान्तको ६ सय ६५ अर्ब ४१ करोडको तुलनामा ६ दशमलव १ प्रतिशतले वृद्धि भई ७ सय ५ अर्ब ७३ करोड पुगेको छ । २०७० फागुन मसान्तमा यस्तो सञ्चिति २०७० असार मसान्तको तुलनामा २२ दशमलव ५ प्रतिशतले बढेर ६ सय ५३ अर्ब ४२ करोड रहेको थियो ।
कुल सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७१ असार मसान्तको ५ सय ७२ अर्ब ४० करोडको तुलनामा २०७१ फागुन मसान्तमा ३ दशमलव ६ प्रतिशतले वृद्धि भई ५ सय ९३ अर्ब ५ करोड पुगेको छ ।
अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०७१ असारदेखि २०७१ फागुन मसान्तसम्ममा १ दशमलव ३ प्रतिशतले बढी अमेरिकी डलर ७ अर्ब ३ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७१र७२ को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११ दशमलव ३ महिनाको वस्तु आयात र ९ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहन केन्द्रीय बैंकले जनाएको छ । रासस
