
अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ ।
पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, “जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ ।”
“सन् २०२३ मा विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ लाख ब्यारेलबाट बढेर १० करोड २२ लाख ब्यारेल प्रति दिन पुग्ने अनुमान गरिएको छ,” प्रतिवेदनमा भनिएको छ ।
आईईएले भनेको छ, “एशियाली विशाल देश चीनको माग पनि अपेक्षाभन्दा बलियो भएको र यो ७० प्रतिशत वृद्धि हो । अर्थव्यवस्थाको कमजोर अवस्थाको बारेमा निरन्तर चिन्ताको बावजुद चीनको उर्जाको माग नयाँ उचाइमा पुगेको छ ।”
“यो बर्षको ग्रीष्म कालमा हवाई यात्रामा भएको वृद्धि, विद्युत् उत्पादनमा तेलको बढ्दो प्रयोग र बढ्दो चिनियाँ पेट्रोकेमिकल गतिविधिका कारण विश्वमा तेलको माग उच्च विन्दुमा पुगेको छ,” आईईएले भनेको छ ।
सन् २०२३ मा विश्वव्यापी मागमा हुने पूर्वानुमानित विस्तारले यसको ‘अहिलेसम्मकै उच्च वार्षिक स्तर’ लाई चिह्नित गर्नेछ ।
