विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्न र्‍याली

134
0
Share:

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली निकालएको ५ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्‍याली आयोजना गरेको हो ।

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी सम्पन्न भएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारी, विद्युतीय सवारी साधनका प्रयोकर्तालगायतको उपस्थिति थियो ।

प्राधिकरणले सहरी  क्षेत्रका लागि  विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।

प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउँमा एक सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: