
काठमाडौं : प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनु पर्नेमा जोड दिइएको छ।
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको सोमबारको बैठकमा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिए।
उनीहरूले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीय स्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो।
प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव थियो।
समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गरे।
सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उनले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताए।
समिति सदस्य विमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताइन्। प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो।
अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताए। प्लाष्टिकको अन्धाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गर्ने सबैले ध्यान दिनुपर्ने उनले बताए।
सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिइन्।
बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढावा दिँदै चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिए।
उनले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोगलाई बढावा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताए।
नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ। प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ।
पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गरेका थिए।
मानव जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा ६ सय खर्ब अमेरिकी डलर रहेको उनको भनाइ छ। नेपालमा प्रतिदिन करिब ४ हजार ९ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ।
नेपालमा प्रतिवर्ष झण्डै १ लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेको छ। बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो।
