पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

Share:

दाङ : विद्यालयको गेटमा लेखिएको छ “विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौँ” । त्यही ज्ञानलाई मूर्तरुप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरू लागिपरेका छन् । विद्यालयले तीन वर्षअघि समयको माग र अभिभावककै चाहनाअनुसार कृषि विषय पढाइको थालनी गर्‍यो । त्यही कृषि विषयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमसँग विद्यालयले जोड्ने काम गर्‍यो ।

बिहानी शत्रको सैद्धान्तिक कक्षामा विद्यार्थीहरू एकाग्र भएर किताबमा भएका कुराहरूलाई कापीका पानामा भरिरहेका हुन्छन् । विद्यालयको त्यही सैद्धान्तिक ज्ञानलाई लिएर विद्यार्थी निकै आत्मविश्वासका साथ अभ्यासका लागि खेतबारीमा पुग्छन् ।

घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ मावि नारायणपुरका ६५ विद्यार्थी बिहान कक्षा कोठामा भेटिन्छन् भने दिनभर खेतबारीमा भेटिन्छन् । बिहान पढेको कुरालाई व्यवहारमा उतार्न उनीहरू दिउँसो खेतबारीमा भेटिने गरेका हुन् । विद्यार्थीहरूले कक्षामा सैद्धान्तिक ज्ञान र बारीमा सीप मात्रै सिकेका छैनन्, सीपलाई श्रम र उत्पादनसँग जोडेर आम्दानी पनि गर्ने गरेका छन् ।

विद्यालयको हातादेखि दुई किलोमिटर पर रहेको विद्यालयको आफ्नै चार बिगाहा जग्गा विद्यार्थीलाई पर्खिरहेको हुन्छ । विद्यालयको अटो रिक्सा चढेर विद्यार्थीहरू खेतमा पुग्छन् र सुरु हुन्छ प्रयोगात्मक अभ्यास । कामको बाँडफाँड गर्दै उनीहरू कोही ससाना बिरुवाको स्याहारसुसारमा लाग्छन्, कोही फुल्दै गरेको सिमीमा डोरी लगाउन थाल्छन् त कोही तयारी अवस्थाको बोडी टिप्न थाल्छन् । विद्यार्थीहरूका लागि खेतबारीमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण सबैको व्यवस्था विद्यालयले नै गरेको छ ।

तरकारी खेतीका लागि उपलब्ध गराएको स्थानमा तरकारी खेती, बिरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्न व्यस्त हुने गरेको विद्यार्थी रेणु डिसीले बताइन् । विद्यालयमा पढेका कुराहरू खेतबारीमै व्यावहारिक रुपमा सिक्दै आम्दानी गर्न थालेपछि विद्यार्थीहरू उत्साहित भएको अर्का विद्यार्थी सविना बुढा क्षेत्रीको भनाइ छ ।

विद्यालयमा पढाइसँगै खेतबारीमा काम गरेर आम्दानी गर्न थालेपछि उनीहरू बेमौसमी तरकारी फलाउने काममा पनि खटिएका छन् । मौसमअनुसार भिन्डी, बोडी, खुर्सानी, काउली, काक्रासँगै च्याउलगायत अरू तरकारी उत्पादन गर्ने गरेको विद्यार्थी सम्झना पन्तले बताइन् ।

उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउनका लागि विद्यालयले विद्यार्थीहरूका लागि अटोको व्यवस्था गरिदिएको छ । त्यही अटोका माध्यमबाट उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेको विद्यार्थी रोमिङ चौधरीले बताए ।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने स्रोत बनेको कृषि प्रशिक्षक पर्याप्त चौधरीले बताए । तरकारी खेती गरेबापत विद्यालयमा २०, विद्यार्थीले ५० र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत पाउने र सो रकम बैंक खातामा जम्मा हुने गरेको छ । उनीहरूले अहिलेसम्म रु दुई लाख ५० हजार बराबरको तरकारी बिक्री गरिसकेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: