चामे क्षेत्रको घट्टे खोलामाथि काठेपुल निर्माण

Share:

मनाङ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो।

यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा आवतजावत रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतका लागि बाढीले जीर्ण बनाएको काठेपुल मर्मत गरिएको बताए।

उनका अनुसार घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएर क्षति पुगेपछि आवतजावत रोकिएको थियो। उनले भने, ‘पानीको सतह घटेपछि आज काठेपुल निर्माण गरिएको।’ वर्षा कम भए पनि कुनै स्थानमा पहिरा खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको थियो। घट्टे खोलामा आएको बाढीका कारण चामे आसपासका दुवै काठेपुल जीर्ण भएको थियो।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा पानीको सतह कम हुनासाथ काठेपुल निर्माण गरिएको बताए।

पुलमा क्षति भएपछि सवारीसाधन तथा सर्वसाधारणको आवतजावत ठप्प भएको थियो। विसं २०७८ असार १ मा पनि यी चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो।

कमेन्ट गर्नुहोस्
Share: