चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा

Share:
फाइल

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिए । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ ।

“हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भने– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: