बाँदर रुँगेरै अन्न जोगाउँछन् सुनारपानीवासी

Share:

रामेछाप : स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाए । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि दैनिक लौरो लिएर बारीका डिलमा बस्नुपर्ने बाध्यता छ । उनी बाँदर धपाएर अन्न जोगाउनका लागि दैनिक बारीको कान्लामा बस्दै आएका छन् ।

 

आफूले वर्षौंदेखि बाँदरको अचाक्ली खेपिरहेको कार्कीले बताए । बाँदरले बारीमा फलेका अन्न बाली भित्र्याउन नदिएपछि उनले जुक्ति निकालेर बाँदरले नखाने खेती गर्न थालेका छन् । मकै, कोदो र फापरजस्ता अन्नबाली छरेर नभित्र्याउन्जेल बारीमा र भित्र्याएपछि पनि घरमै आएर बाँदरले दुःख दिने गरेको कार्कीले बताए । केही जग्गामा कागती र बाँदरले नहेर्ने सुगन्धित वनस्पति लगाएको जनाउँदै बाँकी जग्गामा घाँसको बीउ छरिदिएको उनको भनाइ थियो ।

कार्कीका अनुसार धेरैले बाँदरकै पीरले जग्गा बाँझो राखेका छन् । गाउँमा रहेको उत्पादनयोग्य जमिनमा अहिले खाने अन्न हैन, घाँस हुर्किरहेको उनले बताए । जग्गा बाँझिएपछि स्थानीयले नजिकैको मन्थली बजार पुगेर अन्न किन्ने गरेका छन् ।

“यसअघि प्रतिभारी पाँच सयमा मकै किनेर ल्याएको थिए । गाईवस्तुलाई खोले बनाएर खुवाउनका लागि मकै अनिवार्य हो”, कार्कीले भने, “आफ्नो बारीमा पर्याप्त मकै उत्पादन गर्न बाँदरकै कारण नसकेपछि बाहिरबाट खरिद गरेर ल्याउनु परेको हो ।”

सुनारपानीमा बाँदरको सास्ती पाउने कार्की टोलमात्र हैन । सार्की, भ्यागुरे, तल्लो स्कुल, मचबारी, जुकेपानी, माथिल्लो कार्की टोलमा पनि उत्तिकै आतङ्क छ । केही वर्षअघि बाँदर नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर निवेदन दिएका यहाँका स्थानीयको समस्या अहिले पनि उस्तै छ । निवेदनका बारेमा कुनै सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

केही वर्षअघि महावीर पुनले आविष्कार गरेको बाँदर धपाउने बन्दुक सुनारपानीमा ल्याइएको छ । स्थानीयवासी बाँदर भगाउन उक्त बन्दुक पड्काउँछन्  तर बाँदरले बन्दुकलाई  टेर्दैनन् । “बन्दुक पड्काउँदा केही पर जान्छन् फेरि आइहाल्छन्”, स्थानीय डम्बरकुमारी कार्कीले भनिन्, “मकै हुर्कने सिजनमा हाम्रो बास घरमा हुँदैन, बारीमा हुन्छ ।”

सुनारपानी हुँदै सालुतर्फ जाने सडकको डिलमा बाँदर रुँग्नका लागि बाक्लै मचान बनाइएका छन् । त्यही मचानमा गाउँलेहरू जम्मा भएर बाँदरको निगरानी गर्छन् । “मकै भित्र्याएपछि बाँदर रुँग्न बनाइएका मचान हटाइन्छ र अर्को वर्ष फेरि बनाइन्छ”, डम्बरकुमारीले भनिन्, “कुनै कुनैलाई भने अर्को वर्ष काम लाग्ने भए नभत्काई राखिएको हुन्छ ।” उहाँका अनुसार गाउँमा रहेका केही कुकुर पनि बाँदरदेखि भाग्न थालेका छन् ।

 

सुनारपानीमा ठूलो सल्लाघारी छ । त्यही सल्लाघारीमा राति बास बस्ने बाँदर बिहान उज्यालो हुनासाथ गाउँ पस्ने स्थानीयको भनाइ छ । साँझ परेपछि भने बाँदर नआउने भएकाले राति रुँग्नु नपर्ने डम्बरकुमारीले बताइन् ।

“बारीको मकै पाकुन्जेल रुँगेर पनि जोगाइयो अब घरको कसरी जोगाउने होला ? सबैलाई यही चिन्ता छ । आँखा झिम्क्यो कि आइहाल्छन्,  स्थानीय कर्णबहादुर रम्तेलले भने, “छानाबाट पसेर एकै छिनमा सिक्की पार्छन् ।” उहाँका अनुसार गत वर्ष दुई जना स्थानीयलाई बाँदरले पिटेर घाइते बनाएको थियो ।

स्थानीय अस्पतालमा उपचार नभएपछि उनीहरूलाई काठमाडौं लगेर उपचार गराएको मन्थली नगरपालिका–५ का वडाध्यक्ष रबिन कार्कीले जानकारी दिए । “किसानको अवस्था बिजोग छ, अहिले पनि मानिसको बास दिनभर जङ्गलकै छेउमा बाँदर रुग्नेमा हुन्छ । रामेछापको सुनारपानीमात्र हैन, बाँदरले दुःख दिने थुप्रै गाउँबस्ती छन्”, उनले भने, “यसअघि कहिल्यै बाँदर नलाग्ने गाउँमा पनि बाँदरको बिगबिगी बढेको छ ।”

गाउँमा मानिसहरू पातलिएका, बाँदरको संख्या बढेको र जङ्गलमा खानेकुराको अभाव भएपछि बाँदर गाउँमा पस्न थालेका मन्थली नगरपालिका–८ का स्थानीय मदनप्रसाद घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्
Share: