
काठमाडौं : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ।
यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६.२ प्रतिशत छ। १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ। नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम शुरु गरेकामा अझै मधेश प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो। राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ।
