केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन

Share:

चितवन : मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको संख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केवलकार चलेपछि भक्तजनको संख्या २५ प्रतिशत हाराहारी बढेको छ । अहिले शनिबार एक हजार पाँचको हाराहारी भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य बार यो संख्या तीन सयदेखि पाँच सय हाराहारी हुन्छ । बिदाको दिन र पर्व विशेषमा संख्या बढ्ने गर्दछ । यो संख्या पहिलेको तुलनामा २५ प्रतिशत हाराहारी बढी भएको उनले बताए ।

उनले भने, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केवलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केवलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केवलकारको उद्घाटन गर्नुभएको हो । मौलाकालिका केवलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजारले केवलकार चढेका थिए । यो संख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उनले जानकारी दिए ।

भदौ महिनासँगै संख्या बढ्दै गएको छ । केवलकारले बुधबार दिउँसो २ बजेपछि ५० प्रतिशत शुल्क कम गरेको छ । अन्य समयमा रु पाँच सय ५० शुल्क लाग्ने गरेको छ । केवलकारकारको दूरी पाँच मिनेटको छ । केवलकारबाट झरेर पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केवलकार स्थानीयवासीको सहकार्यमा आइएमइ ग्रुपले निर्माण गरेको हो ।

केवलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: