अर्काको जग्गा बेच्ने ७ जनालाई कैद र डेढ करोड जरिवाना

Share:

पोखरा, १० बैशाख / नक्कली कागजात तयार गरेर अर्कैको जग्गा बेचेको आरोप लागेका ७ जनालाई कास्की जिल्ला अदालतले कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा—६ लेकसाइडको जग्गा उनैलाई पत्तो नदिई बेची ठगेको आरोप लागेका ७ जनालाई ठगीको प्रकृतिअनुसार कम्तीमा २ महिनादेखि ६ वर्षसम्म कैदको फैसला अदालतले बिहीबार गरेको हो । आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।

Vector illustration of a man lock up in prison

फैसला अनुसार सबै ठगहरुले तिर्नुपर्ने जरिवाना झन्डै १ करोड ६० लाख रुपैयाँ छ । आशामायाकी छोरी सुष्मालाई भने २ महिनाको कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको छ । अदालतले रामचन्द्र भण्डारीलाई ३ वर्ष कैद र ३५ लाख ६६ हजार जरिवानाको फैसला सुनाएको छ । फैसला अनुसार ईश्वर कार्की र पीताम्बर भण्डारीले १/१ वर्ष कैदसहित रामचन्द्रकै जत्तिकै जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । त्यस्तै भोजराज भण्डारी र डिल्लीराम पौडेललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले त्यसरी अरुअरुको नाममा पुगेको जग्गा फेरि शान्ता राणाकै नामको ठहर्ने फैसला पनि गरेको छ । ठगीमा संलग्न भएको आरोप लागेका कास्की मालपोत र पोखरा उपमहानगर पालिकाका १४ कर्मचारीले सफाइ पाएका छन् ।

नगरपालिकाका कानुनी अधिकृत नारायण शर्मा र पोखरा—६ का तत्कालीन वडा सचिव भीमदेव शर्मासहितले सफाइ पाएका हुन् । सफाइ पाउनेमा राष्ट्रिय वाणिज्य वाणिज्य बैंकका कर्मचारी अनील खनालसहित जग्गा किनेका पोखरा—१२ की वविता कार्की, कास्की दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमले पनि सफाइ पाएका छन् । सफाइ पाउने अन्यमा शालिकराम ढकाल, तीर्थराम अर्याल, बुद्धिबहादुर कार्की, कर्णबहादुर थापा, केशवराज सुवेदी, लक्ष्मी पौडेल, लालुप्रसाद सुवेदी र लोकनाथ गिरी छन् ।

ठगीमा संलग्न रहेकी आशामाया र उनकी छोरी २ वर्षदेखि नै पुर्पक्षका लागि थुनामा छन् । काठमाडौंको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामाया लामालाई ५ लाख रुपैयाँ दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो । उनले आफूलाई प्रयोग गर्नेहरुको नाम र फोन नम्बरसमेत बयानका क्रममा प्रहरीलाई दिएकी थिइन् । तर प्रहरीले उनीहरुलाई पक्रेन ।

गिरोहको योजनाअनुसार शान्ता राणाको जग्गा आशामायाबाट २०६८ असोज ५ गते वविता कार्कीका नाममा पास भएको थियो । उनको १४ आना जग्गा उनीहरुले कित्ताफोड गरी वविताबाट दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई बिक्री गरेका थिए । ३ करोड रुपैयाँ पर्ने अनुमान गरिएको उक्त जग्गा किनबेचमा उनीहरुले डेढ करोड रुपैयाँको कारोबार गरेका थिए ।

२१ वर्षदेखि अमेरिका बस्दै आएका भरतपुर चितवनकी शान्ता राणा आफ्नो जग्गा सँधियारले मिचेको खबर सुनेर आउँदा जग्गै अर्काले बेचिसकेको थाहा पाएकी थिइन् । उनले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा उक्त जग्गा बकस पाएकी थिइन् । सोही वर्ष जग्गा बाबुबाट छोरीको नाममा आएको थियो ।

चितवन प्रशासनबाट ०४२ फागुन ५ गते शान्ता राणाले लिएको नागरिकताकै नम्बर (१९१७) मा नक्कली तयार गरेर ठगहरुले आशामाया लामालाई यो कारोबारमा संलग्न गराएका थिए । २०४६ सालअघिको लालपुर्जामा तस्बिर नहुने हुँदा जग्गा किनबेच गर्दा नगरपालिकाको सिफारिस चाहिन्छ । वडाको सर्जिमनसहित सिफारिसका लागि पनि गिरोहले नगरपालिकाका वडा सचिव र कानुनी अधिकृतलाई पनि झुक्याउन सफल भएको थियो । सबै कागजात दुरुस्तै देखेपछि लेखापढी व्यवसायी र मालपोत कर्मचारीसमेत फसेका थिए । उनीहरुको नियत खराब भएर उक्त कार्यमा संलग्न भएको पुष्टि हुन नसकेको अदालतको ठहर छ । शान्ता राणाको जग्गा अर्कैले बेचेको घटना भएको २ वर्षपछि पोखरामा फेरि त्यस्तै अर्का घटनासमेत भएको थियो । स्याङ्जा जगत भन्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा—८ जाल्पारोडको ११ आना जग्गा अर्कैले बेचिदिएका थिए । उक्त ठगी काण्डमा पनि रंगप्रसाद बनाइएका कृष्णबहादुर श्रेष्ठ पुर्पक्षका लागि थुनामा छन् । मुख्य अभियुक्तहरुलाई पक्रन कास्की प्रहरीले चासो दिएको छैन । दुई महिनामात्रै पनि पोखरा —१७ मा रहेको अर्कैको जग्गालाई आफ्नो बनाउने प्रयास गरेको आरोपमा रामेछापका गंगा कार्की र उनका छोरा टेकबहादुर प्रहरी फन्दामा परेका छन् ।

– केशवशरण लामिछाने / नागरिक न्युज

कमेन्ट गर्नुहोस्
Share: