
काठमाडौं, वैशाख ११ / पारी त्यो डाँडामाथि बोलका कारण नै राम्रो उचाई पाएको फिल्म रेशम फिलिली आजबाट देशभरका हलमा लागेको छ । फिल्मको बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर शो गरिएको छ । प्रिमियरमै यो चलचित्र हेर्नका लागि फिल्मीकर्मी, पत्रकार र अन्य विभिन्न क्षेत्रका मानिसहरुमा एक प्रकारको उत्साह देखियो ।

फिल्म हेर्दा हलमा हाँसो गुञ्जायमान भयो । विनय श्रेष्ठ, कर्मा, मेनुका प्रधानको साथमा फिल्ममा नयाँ अनुहार छन्, कामेश्वर चौरासिया । तर, फिल्म हेरेर बाहिर आएपछि दर्शकले कामेश्वरलाई मात्र संझिए ।
माधव वाग्ले र विनय श्रेष्ठको निर्माणमा तयार भएको यो फिल्मले रेशम नाम गरेको एक पात्रको कथालाई प्रस्तुत गरेको छ । गाउँबाट बहिनी सुन्तलीको बिहे गर्ने सोचका साथ विदेश जान आएको यूवक दलालले फसाएपछि काठमाण्डौमै रनभुल्लमा पर्छ । यसपछि उसको जिवनमा आउने उतारचढाव नै फिल्मको कथावस्तु हो ।प्रणव जोशीले निर्देशन गरेको यो फिल्मको चर्चित गीत पारी त्या डाँडामाथिको दृश्यले भने दर्शकलाई सन्तुष्ट बनाउँदैन । गीत अनुसार दृश्य शुन्य जस्तै छ ।

फिल्म हेर्नका लागि अभिनेत्रीहरुको बाक्लो उपस्थिती हलमा देखियो । अभिनेत्रीहरु नम्रता श्रेष्ठ, केकी अधिकारी, ऋचा शर्मा, वेनिशा हमाल, नन्दिता केसी, रिमा विश्वकर्मा हलमा देखिए । कुमारी हलका २ वटै पर्दामा फिल्म देखाइएको थियो । धेरै संचारकर्मीदेखि अन्य विभिन्न क्षेत्रका मानिसहरुले पास नपाएर घर फर्किए । फिल्म आजबाट हलमा लागेको छ । फिल्मले दर्शकको साथ राम्रो पाएको छ । रातो कार्पेटलाई हटाउँदै सुकुले ओच्छ्याएर गरिएको प्रिमियर फरक देखियो ।
