
रञ्जन अधिकारी पोखरा, २२ वैशाख / बुद्ध सम्वत्, २५५९ औं वैशाख पूर्णिमा बुद्ध जयन्ती, सोमबार मुलुकभर भगवान बुद्धका अनुयायीहरुले स्मरण गर्दै मनाए । बुद्धको जन्म, सम्बोधी लाभ र महापरिनिर्वाण जस्ता त्रिसंयोग परेको तिथि वैशाख पूर्णिमालाई पवित्र दिनका रुपमा बुद्ध जन्मभूमि नेपाल लगायतका विभिन्न बुद्ध धर्म मान्ने मुलुकमा उनको स्मरण गर्ने गरिन्छ । अहिंसाका प्रतिक गौतम बुद्धको स्मरणमा बुद्धजयन्ती समारोह समिति कास्कीले वृहत शान्ति पदयात्रा सहित विविध सांस्कृतिक कार्यक्रम गर्दै पोखरामा बुद्ध जयन्ती मनाएको छ ।
यहाँस्थित विभिन्न गुम्बा, बौद्धविहार लगायतका संघसंस्थाको सहभागितामा मध्यान्ह धर्मशीला बुद्ध बिहार नदिपुरबाट सुरु भएको शान्ति पदयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर विशेष धर्मसभा परिणत भएको थियो । श्रद्धेय भन्त श्रद्धानन्द महास्थवीरले पञ्चशील प्रदान तथा लामाहरुले मोलम पाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
धर्मसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बौद्ध अर्घौंं सदन पोखराका प्रमुख लामा आचार्य थुब्तेन ऐशे गुरुङ (शिर लामा) ले बुद्ध धर्म, बुद्ध शिक्षा र बुद्ध दर्शनबारे बुझ्न बुझाउन नसक्दा ओझेलमा परेको बताए । अधिकांश लामा गुरुहरु आफैंले पढेको पाठ, शिक्षा बुझ्न नसकिरहेको उनको धारणा छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा बुद्ध धर्म र दर्शनबारे अध्ययनअध्यापन नै सुरु भईसकेको सन्दर्भमा उनले बुद्धभूमि नेपालमा भने सरकार यसतर्फ गम्भीर बन्न नसकेको गुनासो गरे । ‘गुम्बा शिक्षाको केन्द्र हो । गृहस्थी जीवनमा रहनेले पनि बौद्ध शिक्षा लिन सके समाज शान्त र सुन्दर बन्छ । जीवनले सार्थकता पाउँछ ।’ उनले भने – ‘बुद्ध धर्म पढेका लामा र अन्य विद्धानहरुलाई पूजापाठ गर्ने कर्मकाण्डीको रुपमा मात्र हेर्नुभएन । बुद्ध शिक्षा र गुम्बा शिक्षालाई पूर्ण मान्यता दिन जरुरी छ ।’ उनले नेपालमा बौद्ध विश्वविद्यालय स्थापना हुनुपर्नेमा जोड दिँदै बुद्ध धर्म र दर्शनबारे पढाई हुने विश्वविद्यालय खोल्नुपर्ने बताउँदै यसबाट देशकै विकासमा टेवा पुग्ने दाबी गरे । विचार शुद्ध हुनेहरु जोकोहि बुद्ध धर्मका अनुयायी बन्न सकिने उल्लेख गर्दै उनले बुद्ध धर्मका दर्शन र मान्यताहरुलाई अन्य धर्मले पनि अस्विकार नगरेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका समारोह समितिका अध्यक्ष नरेन्द्र लालचनले बुद्ध धर्मले जातभात भनेर नछुट्याउने र समान व्यवहार, शान्ति, अहिंसामा जोड दिने भएकाले नेपालमा मात्र नभएर विश्वभर व्यापक रुपमा यो धर्मको प्रचारप्रसार गर्नुपर्ने खाँचो औंल्याए । ‘बुद्ध नेपालमा जन्मिए र विश्वभर आफ्ना सन्देश फैलाउन सफल भए । तर हाम्रै नेपालमा उनको उपयुक्त सम्मान हुन सकेको छैन ।’ उनले भने ।
सो अवसरमा बुद्ध धर्मको प्रचारप्रसार तथा बुद्ध शिक्षामा योगदान दिएको भन्दै टेकबहादुर पुन मगर सम्मानित भए । धर्मसंघ बुद्ध विहार, सद्धम सभाका अध्यक्ष भरतराज शाक्यको संयोजकत्वमा गठित छनौट समितिले उनलाई सम्मानका लागि सिफारिस गरेकोमा समारोह समितिले प्रशंसापत्रले सम्मान ग¥यो । कार्यक्रममा सम्मानित व्यक्तित्व पुनले आफूलाई सम्मान गरेकोमा धन्यवाद दिँदै बुद्ध धर्मलाई प्रचारप्रसारमा अझै लाग्ने बताए । सम्पूर्ण विहार गुम्बाका तर्फबाट कृष्णमान गुभाजुले बोलेका थिए । कार्यक्रममा सचिव गोविन्द ताम्राकारले सञ्चालन गरेका थिए भने उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत गरेका थिए । कार्यक्रममा ज्ञानमाला संघ धर्मशीला बुद्धविहारले स्वागत भजन प्रस्तुत गरेको थियो । गत वैशाख १२ गतेको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सुगतिको कामना समेत गरिएको थियो । कार्यक्रममा बुद्ध जयन्ती स्मारिका समेत प्रमुख अतिथिले विमोचन गरे । बुद्ध जयन्ती समारोह समितिले सप्ताहव्यापी कार्यक्रम गरी बुद्ध जयन्ती मनाएको हो ।

