
पोखरा २३ बैशाख । भूकम्प पिडितको राहत सामाग्री खरिदको क्रममा चर्को मुल्य तिर्नुपरेको गुनासोपछि पोखराका पसलहरुमा अनुगमन थालिएको छ । बिशेष गरी त्रिपाल र कम्बल खरिद बिक्रिको क्रममा बढी मुल्य लिएको, कृतिम अभाब सृजना गरेको भन्ने सुचनाको आधारमा जिल्ला अनुगमन समिति कास्कीले बुधवार अनुगमन गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय , उपभोक्त मञ्च कास्की र पत्रकारहरुको संयुक्त टोलीले बुधवार पोखराका चार पसलमा अनुगमन गरेको छ ।
पोखराको सिद्धार्थचोकमा रहेको ढकाल प्लाष्टिक सप्लायर्स, मानवअधिकार चोकको एलपि प्यालष्टिक सप्लायर्स, आरएल ईन्टरप्राईजेज पन्थीगल्ली र जय हनुमान वस्त्रालय न्यूरोडमा गरिएको अनुगमनका क्रममा तोकिएको भन्दा बढी मुल्यमा बिक्रि गरेको, सादा विलको प्रयोग गरेको तथा खरिद विलनै नभएको सामान बिक्रि गरेको पाईएको थियो । चार वटै पसल सञ्चालकलाई बिहिवार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन आग्रह गरिएकोसहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी दिए ।
भूकम्प पिडितको लागि राहत सामाग्री खरिद गर्ने क्रममा चर्को मुल्य तिर्नुपरेको , कृतिम अभाब सृजना गरेको र अनियमितता गरेको उजुरीको आधारमा अनुगमन गरिएको अख्तियार पोखराका प्रहरी नायव उपरिक्षक श्याम राईले बताए । अनुगमन गरिएको पसलहरुको आबश्यक कागजात नियन्त्रणमा लिईएको र छानविनको क्रममा दोषी देखिए उपभोक्ता संरक्षण ऐन एबं कालोबजारी ऐन अनुसार कारवाही हुने उनले बताए ।
विपतको बेला राहत सामाग्री खरिद सहज हुनुपर्नेमा उपभोक्तामाथि चर्को मुल्य असुल्न खोज्नु र कृतिम अभाम सृजना गर्नु दुखद भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । कुनैपनि सामान खरिदको क्रममा आफु ठगिएको महशुस भए खबर गर्न उनले आग्रह गरेका छन् ।
सरकारले राहतको लागि ल्याईने त्रिपालमा भन्सार छुटको ब्यबस्था गरेको भएपनि पोखराका पसलमा साविककै मुल्यमा खरिद बिक्रि भैरहेको छ । स्रोतका अनुसार कतिपय ब्यापारीले राहतको नाममा भन्सार छुट लिने र चर्को मुल्यमा बिक्रि गर्ने गरेका छन् । अनुगमन समितिले मंगलवार पोखराका केहि पसल र राहतको लागि पोखरा बिमानस्थलमा जम्मा गरिएको सामाग्री बारे अनुगमन गरेको थियो ।
