
कास्की : पोखरा लेकसाइडमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा ‘स्टेशन द फुड क्लब’को अपार सफलतापश्चात् आयुष श्रेष्ठले डिहिकोपाटनमा ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् ।
करिब दुई करोड लगानी भएको उक्त थकाली भान्सा घटस्थापनाको दिनबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।
यसमा थकाली स्वादका खाना ग्राहकले पाउने श्रेष्ठले जानकारी दिए ।
उनले थकाली भान्सामा आवश्यक पर्ने तरकारीहरू मार्फाबाट नै ल्याउने बताए। उनले भने, “फापर, आलु, दाल लगायत मार्फाबाट ल्याउनेछौं। यति मात्र होइन पोखरा तथा यस आसपासका अर्गानीक खानेकुरा स्वाद दिने प्रयासमा पनि हामी रहेका छौं।”
उनले फेवाफाँटको जेठोबुढो, जुम्लाका मार्सी लगायतको ग्राहकको माग अनुसारको खाना उपलब्ध गराउने बिगखबरसँग बताए ।
पोखराको नाम चलेको रेष्टुरेण्ट मध्ये एक हो “स्टेशन द फुड क्लब एण्ड ससेज पार्क” । बच्चादेखि वृद्धसम्मको रोजाइमा पर्छ । संचारकर्म हुँदै व्यवसायमा हात हालेका श्रेष्ठले मार्फा थकालीबाट फरक यात्रा सुरु गरेको बताए ।
उनले भने, “थकाली भान्सामा सादा थकाली खानाको ३ सय ५० रुपैयाँ, चिकेन थकाली खानाको ५ सय रुपैयाँ र मटन थकाली खानाको ६ सय रुपैयाँ तिर्नुपर्नेछ । थकाली खानासँगै थकाली ब्रेकफास्टको आइटम समेत उपलब्ध गराइनेछ ।”
