
रञ्जन अधिकारी पोखरा, २४ वैशाख / गत वैशाख १२ गतेको महाभुकम्पमा परी विहीबारसम्म मृत्यु हुनेको संख्या आठ हजार पुग्न लागिसकेको छ । १३ औं दिनको पुण्यतिथिको अवसर पारी पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा सेवा आश्रम समितिले श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णबहादुर राउतले कास्की जिल्लामा धेरै मानवीय क्षति नभएपनि यहाँ भएको क्षतिलाई पुर्ननिर्माण गर्दै प्रभावित जिल्लाबासीलाई सहयोग गर्नुपर्ने खाँचो औंल्याए । राउत अघि बोलेका उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले कास्की जिल्लाबाटै राहत अभियान सुरु गरेर दुःखमा परेका नेपालीका लागि सहयोग गर्नुपर्ने र त्यो अभियानमा आफू सक्रियतापूर्वक लाग्ने घोषणा गरेपछि प्रजिअ राउतले अभियान नै सुरु गर्नुपर्ने पक्षमा आफु रहेको र यसले सार्थकता पाउने पनि बताए । प्रजिअ राउतले स्वयंसेवी युवाहरु सक्रिय रहेकोमा खुशी पनि व्यक्त गरे ।
पूर्व सभासद् समेत रहेका केसीले नेपालीहरु मिलेर गर्छन् भन्ने प्रमाणित भईसकेको भन्दै विदेशमा रहेर बेलायती अभिनेत्री लुम्लेले ५ अर्ब संकलन गरिसक्दा हामी किन नसक्ने ? भन्दै प्रश्न गरे । राज्य पनि दायित्वबाट उम्कलन नमिल्ने र पीडितहरु पनि आफू पनि सक्रिय हुनुपर्ने उनको सुझाव छ । एउटाको आँशु अर्कोले पुछ्ने बेला हो भन्दै उनले कोहि पनि कर्तब्यबाट नभाग्न आग्रह गरे ।
वास्तुविद् डा. बासदेव कृष्ण शास्त्रीले एउटा सम्पन्न जिल्लाले अर्को प्रभावित जिल्लालाई हेर्नुपर्ने भन्दै कास्कीले अभियान थाल्ने हो भने काठमाण्डौंमा पनि यसको प्रभाव पर्ने बताए । सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रविन्द्र माकाजुले हिन्दु राष्ट्र नेपालको सम्पदाहरु भुकम्पका कारण क्षतविक्षत भएको, मन्दिरहरु ढलेको, ऐतिहासिक र धार्मिक महत्वका सम्पदा चोरिने, धार्मिक सद्भाव खलबलिने भय रहेको भन्दै सबै सचेत रहनुपर्ने बताए ।
राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष कमलनयन गौतम, गुम्बाहरुका तर्फबाट मिन गुरुजी, श्री स्वामिनारायण मन्दिरका श्रीजी महाराज, पत्रकार सुष्मा पौडेल लगायतले भुकम्पबाट मृत्यु भएकाहरुको आत्माको चीर शान्तिको कामना, घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधिश डा. लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आश्रम समिति सदस्य द्रोणराज अधिकारीले कार्यक्रममाथि प्रकाश पारेका थिए । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले सञ्चालन तथा केन्द्रिय उपाध्यक्ष बेदनिधि शर्माले स्वागत गरेका थिए ।
