
कञ्चनपुर : जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पु¥याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो ।
हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नं ५ का अध्यक्ष चक्रबहादुर खडकाले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन् ।
वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले जानकारी दिए । जडान गरिएका बत्ती दुई वर्षभित्र बिग्रिएमा मर्मत गर्ने गरी आपूर्तिकर्तासँग सम्झौता गरिएको उनले बताए ।
“स्थानीय किसानको माग अनुसार प्राथमिकताका आधारमा बत्ती जडानको कार्य गरिरहेका छौँ”, वडाध्यक्ष खडकाले भने, “गत वर्ष रू दुई लाख ५० हजारमा बजेटमा ४० वटा बत्ती जडान गरेका थियौँ । यस वर्ष रू दुई लाख बजेटमा ३० वटा बत्ती जडान गरिरहेका छौँ ।” वडा नं ६ मा रू चार लाख बजेटमा ६० बत्ती खरिद गरी जडान भइरहेको उनको भनाइ थियो ।
“उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो” वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले भने, “सेन्सरयुक्त बत्ती उज्यालो हुनासाथ आझै निभ्छ । राति हुन थालेपछि आफै जल्छ ।”
बत्ती जडानपछि स्थानीयलाई ओहरदोहर गर्न सहज हुनाका साथै हात्तीलाई टाढैबाट देख्न सकिने भएकाले सजग हुने, भगाउन सक्ने तथा रातिका बेला हुने चोरीका घटनामा कमी आउने ऐरको भनाइ थियो ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । “मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ”, विज्ञप्तिमा भनिएको छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय ५७ जना घाइते भएको थिए ।
“चट्याङ्को घटनाको संख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको संख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।”
