गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार सिग्देललाई

Share:

पोखरा, २७ वैशाख। नेपाल पत्रकार महासंघ कास्कीले गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशील पत्रकारिता पुरस्कार–२०७२ पत्रकार नवीन सिग्देललाइ प्रदान गरिने भएको छ। महासंघ कास्की शाखाद्वारा सञ्चालित तथा स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारजनद्वारा स्थापित पुरस्कारको राशी २५ हजार नगद, ताम्रपत्र र दोसल्ला छ। सिग्देल आदर्श समाज दैनिकका प्रमुख सम्वाददाता हुन्।

महासंघ कास्की शाखाद्वारा गठित प्रतिभा छनौट समितिको सिफारिस अनुसार आइतबार बसेको कार्यसमितिको बैठकले सिग्देललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रतिभा छनौट समितिको संयोजकमा वरिष्ठ पत्रकार माधव शर्मा, सदस्यहरूमा पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, सल्लाहकार राजबहादुर गुरुङ, अध्यक्ष रामकृष्ण ज्ञवाली र सदस्य–सचिवमा महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल थिए।

पोखरा–१३, कुँडहरमा वि. स. २०३७ साल माघ २२ गते जन्मिएका सिग्देलले स्नातकसम्म अध्ययन गरेका छन्। २०५६ सालमा आफ्नै प्रयासमा हाम्रो जमर्काे मासिक र प्राकृत पोखरा सप्ताहिक पत्रिका प्रकाशित गरी पत्रकारिता सुरु गरेका उनी हालसम्म निरन्तर क्रियाशील छन्। सिग्देलले राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक, नेपाल एफएम् नेटवर्क, तराई टिभि, रेडियो बाराही, हिमचुली एफएम, कालिका एफएम, चितवन, वीरगञ्ज एफएम वीरगञ्ज, प्रतिध्वनी एफएम हेटौडा र मध्यविन्दु एफएम, नवलपरासीमा काम गरिसकेका छन्।

यसअघि, सिग्देल राष्ट्रिय समाचार समितिबाट उत्कृष्ट आलेख पुरस्कार, अपराध अन्वेषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति कास्कीबाट उत्कृष्ट पत्रकार पुरस्कारका साथै विभिन्न समयमा एक दर्जन बढी सङ्घ, संस्थाद्वारा सम्मानित भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: