
पोखरा, २८ बैशाख | देश पिडामा छ । कारण हो, भूकम्पको महाविपत् । हजारौँको ज्यान लिएको छ भूकम्पले । र, हजारौँको सँख्यामा मानिसहरु घाईते भएका छन् । अरबौँको क्षती भएको छ । मानिसहरु घरमा बस्न पाएका छैनन् । यस्तै विजोग दृश्य देखेपछि गायक तथा संगीतकार योगेश काजी बिसीले एउटा गीत लेखे । उनैले त्यसमा संगीत भरे र आफैले गाए । र, भूकम्पको विभिन्न फुटेज जोडेर भिडियो पनि तयार गरे । उनले यो गीतलाई सोमबार सार्वजनिक गरेका छन् ।
अमन तामाङ र सुरज श्रेष्ठले यो भिडियो बनाएका हुन् । ‘भूकम्पपछि मर्नेहरु त मरे, तर धेरैजना जो बाँचेका छन्, उनीहरुको घर ढल्यो । आफन्त मरे, कोहि घाईते भए । र, त्यस्तो बेलामा उनीहरुमा के बितिरहेको होला ? भन्ने कुराले मलाई छोयो । र, त्यस्तै भावमा मैले यो गीत लेखेको हुँ ।’ गीतको बारेमा बोल्दै गायक योगश काजी बिसीले भने–‘मैले चिनेका पनि ५ जना साथीहरुलाई यहि भूकम्पले लग्यो, र त्यसपछि मेरो मनमा वितेको कुरा गीतमार्फत प्रस्तुत गरेको हुँ ।’
https://www.youtube.com/watch?v=2l5wOAEWuzg
भूकम्प सम्बन्धि गीत बन्ने क्रमले पायो तीव्रता
भूकम्पको पिडासँगै धेरै जना कलाकारहरुले यसैसँग सम्बन्धित गीत बनाउने क्रम यतिबेला ह्वात्तै बढेको छ । खासगरि भूकम्पले दिएको पिडा बोकेका गीतहरु यतिबेला धेरै सार्वजनिक भएका छन् । साँगीतिक शहर पोखरामा भूकम्पको पिडा बोक्ने गीतहरु बन्ने क्रमले अझै तिव्रता पाएको छ । योगेश काजी बिसीका अनुसार उनीसँग मात्रै भूकम्पसँग सम्बन्धित गीत बनाउन ५ जना आएका छन् ।
त्यस्तै संचारकर्मी संजोग बस्यालको लेखनमा गायक तथा संगीतकार दिनेश सुनारले पनि भूकम्प सम्बन्धि गीत गाउँदैछन् । यतिबेला संगीतको काम भैरहेको गीतको रेकर्डिङ चाँडै हुने सुनारले बताएका छन् । भूकम्पसँग सम्बन्धित रहेर पिडा बोकेको गीतहरु बनिरहँदा यो गीतको शब्द चाँहि केहि फरक शैलीको भएको गीतकार संजोग बस्याल बताउँछन् । ‘विपत्ती त प¥यो तर अझै हामीले धेरै गर्नु छ । हामी अगाडि बढ्नुछ । र, नयाँ संसार बसाउनु छ । गीतले यस्तै भाव बोक्छ ।’ उनले भने–‘विपत्मा परेकाहरुलाई उर्जा भर्ने खालको शब्दहरु मैले गीतमा बुनेको छु ।’
त्यस्तै अर्का गायक आशिसदास दियाली पनि भूकम्पसँग सम्बन्धित गीत रेकर्ड गराईरहेका छन् । उनले तयार पारिरहेको गीतमा विनोद बानियाँ, नरजंग गुरुङ, माया गुरुङ लगाएतका कलाकारहरुले पनि गाउँदैछन् ।
