नेपालका करिब ६० प्रतिशत घर एकतले,कूल ७५ लाख ५२ हजार ६६ वटा घर

234
0
Share:

काठमाडौं : नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् ।

नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् ।

“मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।

देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: