‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’

Share:

काठमाडौं : नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा बिहिबार उनले आफ्नै निवासमा आयोजना गरेको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या गर्नेलाई आफ्नो देशको सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि कारबाही गरेरै छाड्ने बताए।

इजरायलमाथि गरिएको आतङ्कवादी हमलाका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीसहित सबै दुई सय ४० जनालाई निःशर्त रिहा गर्न राजदूत गोडेरले आग्रह गरे।

हमाससँग युद्धविराम गर्न इजरायल तयार रहेको तर त्यसो गर्दा अर्को अतिवादी समूह हेजबुल्लाहले आक्रमण गर्ने जोखिम उत्तिकै रहेको र हमासले पनि शक्ति सञ्चय गरी निर्दोष नागरिकलाई मार्ने भएकाले उक्त समूहलाई विश्वास गर्न सक्ने आधार नभएको उनले बताए।

हमासलाई परास्त गर्न एक हजार चार सय इजरायली सुरक्षाकर्मीले प्राणको आहुति दिएका बताउँदै विश्वका ५७ देशले इजरायललाई तारो बनाएकामा दुःख व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: