
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्व अर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन्। मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन्।
प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाएका छन्।
उनले घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिएका छन्। प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गरेका छन्।
उक्त भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ५० जना भन्दा बढीको मृत्यु भएको छ। भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
