‘टीका कोसँग लगाउने भन्ने चिन्ता थियो, बालगृहमै टीका लगाउन पाउँदा खुसी छु’

167
0
Share:

तनहुँ : व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।

 

बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटीका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए ।

 

तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटीका लगादिइन् । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटीका लगाउन पाएकामा खुसी व्यक्त गरे ।

 

सुमनले भने, “तिहारमा कोसँग टीका लगाउने भन्ने चिन्ता रहेन, बालगृहमै टीका लगाउन पाउँदा खुसी लागेको छ ।” अभिभावकविहिन विकले बालगृहमा आश्रय लिँदै आएका छन् । बारा घर भई बालगृहमा रहेका शिव यादवले पनि दुई बालिकाको हातबाट भाइटीका लगाए ।

 

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले चार जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुसी छन्,” उनले भने, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”

 

बालगृहमा रहेका छ जनामध्ये पाँच जना तनहुँ ठेगाना भएका र एक जना बारका हुन् । त्यसमध्ये पाँच जना अभिभावकविहिन हुन् भने एक जना विविध कारणले बालगृमा आइपुगेका हुन् ।

 

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि विगत पाँच वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग हुँदै आएको छ । घिमिरेले भने, “बालगृह सञ्चालनका लागि सरकारी निकायबाट सहयोग छैन, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुन्छ । व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।”

 

कमेन्ट गर्नुहोस्
Share: