
तनहुँ : तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । रु दुई करोड ५० लाखमा निर्माण गरिएको प्रयोगमा नआउँदा ताला लगाइएको छ ।
भानुभक्तसम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा आउन नसकेको हो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले रामायण भवन निर्माण गरे पनि यसको संरक्षणतर्फ ध्यान पुग्न सकेको छैन ।
पछिल्ला समयमा भवनका सामान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो ।
कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देख्दा दुःख लागेको छ”, उनले भने, “यसको उचित संरक्षणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।”
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले भवन संरक्षणका लागि प्रहरी चौकी राख्न माग गरे पनि सुनुवाइ नभएको बताए । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्त जन्मिएका थिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गरेका थिए । भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधुशिक्षा’, ‘रामगीता’लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । भानुभक्तको १९२५ असोज ६ गते चुँदीरम्घामा निधन भएको थियो ।
