मदन भण्डारी स्मृति गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

Share:

मोरङ, जेठ ३ / मोरङको उर्लाबारीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधि चर्च व्वाइज युनाइटेड काठमाडौंले जितेको छ । आइतबार भएको फाइनलमा आयोजक मंगलबारे फुटबल क्लबलाई २–० ले हराउँदै चर्च ब्वाइजले उपाधि उचालेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ पाएको छ भने उपविजेता टिमले १ लाख रुपैयाँ पाएको छ । चर्च ब्वाइजलाई जिताउन सुमन लामाले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले विपक्षी पोष्टको नजिकैको दाहिने कुनाबाट सुन्दर प्रहार गरी बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा भने आयोजकले चर्चविरुद्ध दवाव बढायो । उसले जवाफी गोल फर्काएर बराबरी बनाउने धेरैवटा प्रयास गरेको थियो । तर गोल गर्न सकेन । यहिबिचमा ७८ औं मिनटमा चर्चका राजिव गुरुङले अर्काे गोल थपेर आफ्नो टिमलाई २–० ले विजयी बनाए ।

विजेता टिमका सुमन लामाले म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । म्यान अफ द सिरिज भएका आयोजकका क्याप्टेन रुपेश तामाङलाई पुरस्कार स्वरुप ल्यापटप प्रदान गरिएको छ । आयोजकका सुनिल लामा हाइस्कोरर, आयोजककै संगीत पाँचकोटीलाई उदियमान, चर्चका वर्षात गुरुङलाई अनुशासित खेलाडीको पुरस्कार दिइएको छ । चर्चकातर्फबाट जाङ्वु शेर्पा, पाल्साङ लामा, सुमन लामा, वर्षात गुरुङ, बुद्ध लामा, रमेश दंगाल सहितका चर्चित खेलाडी सहभागि थिए । आयोजकको तर्फबाट क्याप्टेन रुपेश तामाङ, दिनेश राजवंशी, सुरेन खवास, हेमन्त थापामगर, सुनिल लामा सहितका राष्ट्रियस्तरका खेलाडीहरु सहभागी थिए ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङद्धारा मंगलबारेस्थित सालबारी खेलमैदानमा जारी प्रतियोगितामा नेपालका ६ र भारतको दार्जिलिङका २ गरी ८ टिमको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
Share: