
कास्की : कास्कीको पोखरा महानगरपालिका–८ नागढुङ्गा स्थित एक होटेलमा बसेकी महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.का अनुसार नागढुङ्गामा रहेको युनिक होटेलमा बसेकी ३८ बर्सिया सुकु बि.क. होटेलकै कोठामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
तनहुँ भिमाद स्थायी घर भई नागढुङ्गाकै शिला रेस्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आइरहेकी बि.क.मङ्गलवार साँझ करिब साढे छ बजेको समयमा युनिक होटेलको कोठामा अचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा होटेल सञ्चालक महिलाले देखेपछि तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारको लागि चरक मेमोरियल अस्पताल लगेकोमा साँझ करिब साढे सात बजेको समयमा उनको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक बि.क.का अनुसार बि.क.को शवलाई पोस्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । प्रारम्भिक रूपमा हेर्दा घटना शङ्कास्पद हुन सक्ने देखिएकोले उनी बेहोस हुनुको कारण र मृत्युका विषयमा थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले बताएको छ ।
