
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ ।
आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन् ।
प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसअघि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ कायम गरिएको थियो ।
राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार कायम गरिएको आयोगले जनाएको छ ।
