इजरायली सेनाद्वारा पश्चिम किनारमा आठ जनाको हत्या गरेको प्यालेस्टिनी मन्त्रालयको भनाइ

Share:

इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

 

जेनिनमा ठूलो संख्यामा सशस्त्र सवारी साधनसहित घुसपैठ गरेर  इजरायली सेनाले पाँच जनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक  इजरायली हमला थियो ।

 

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार एक  इजरायली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो । अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार  इजरायली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो । उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिए ।

 

इजरायली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ । अगस्टमा दुई  इजरायलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ ।

 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिन नजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ । रामल्लाह सहर नजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा  इजरायली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

 

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले  इजरायली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

 

हमास सरकारका अनुसार  इजरायलले गाजामा बमबारी र स्थल कारवाहीका साथ प्रतिक्रिया दिएको छ ।  इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा दुई सय ३० भन्दा बढी प्यालेस्टिनीहरूलाई  इजरायली बासिन्दा र सैनिकले मारेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: