
लमजुङ : पहाडी जिल्ला लमजुङमा एचआइची/एड्स संक्रमितको संख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी/एड्स संक्रमितको संख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभी/एड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको संख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभी/एड्स परामर्शदाता गणेश गुरुङले बताए । उनका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा सङ्क्रमण देखिएको छ ।
गुरुङले एक हजार ४९ को परीक्षण गरिएकामध्ये एक महिला संक्रमित थपिएको बताए । योसँगै यस आवमा ६८ महिला र ५६ पुरुष गरी एक सय २४ संक्रमितको संख्या पुगेको छ । गत आवमा तीन हजार तीन सय ९९ परीक्षण गर्दा एक महिला संक्रमित थपिएको थियो ।
गत आवमा ६७ महिला र ५५ पुरुष गरी एक सय २२ जना एचआइभी÷एड्स संक्रमित रहेका गुरुङले जानकारी दिए । आव २०७८/७९ मा तीन हजार दुई सय ६६ जनाको परीक्षण गर्दा दुई महिला र एक पुरुष गरी तीन नयाँ संक्रमित थपिएका उनको भनाइ थियो । उक्त आवमा ६५ महिला र ५४ पुरुष गरी एक सय १९ जना संक्रमितको संख्या थियो ।
आव २०७७/७८ मा आठ, आव २०७६/७७ मा छ र आव २०७५/७६ मा आठ जना नयाँ एचआइभी/एड्स संक्रमित थपिएका गुरुङले बताए ।
जिल्लामा एचआइभी/एड्स उपचार तथा परामर्श केन्द्र (एआरटी) सेवा जिल्ला अस्पतालबाट हुँदै आएको छ । जिल्लामा आव २०६६/६७ देखि एआरटी सेवा सञ्चालनमा आएको हो । सो अवधिदेखि हालसम्म एचआइभी/एड्स संक्रमित भएका २५ जनाको मृत्यु भइसकेको एआरटी परामर्शदाता गुरुङले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा १० महिला र १५ पुरुष रहेका छन् । हाल एक सय २४ले यस सेवाबाट औषधि सेवन गरिरहेको गुरुङको भनाइ थियो । “पन्ध्र जनाले अनेन्त्रबाट औषधि सेवन गरेका र आठले औषधि लिन आउन छाडेका छन्”, उनले भने ।
सरकारबाट मान्यताप्राप्त चार स्वास्थ्य संस्थाबाट जिल्लामा एचआइभी/एड्सको परीक्षण हुँदै आएको छ । बेँसीसहर नगरपालिकास्थित जिल्ला अस्पताल, सुन्दरबजार नगरपालिकास्थित सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेस्वर प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
सरकारले एचआइभी÷एड्सका क्षेत्रमा जनचेतना, उपचार, निगरानी, सहयोग, आमाबाट बच्चामा सर्ने रोकथामलगायतका कार्यक्रम गर्दै आए पनि बर्सेनि संक्रमितको संख्या थपिँदै गएको छ । जिल्लामा एचआइभी सङ्क्रमण हुनेमा भारतबाट आएका व्यक्ति रहेका वाका परामर्शदाता गुरुङले बताए । जिल्लामा एचआईभी संक्रमित तीव्ररुपमा फैलिरहेको अनुमान गरिए पनि परीक्षण कम हुँदा संक्रमित सबैको तथ्यांक नभएको उनको भनाइ थियो ।
परामर्शदाता गुरुङका अनुसार आफन्त समाजले थाहा पाउछ भनेर जिल्लाबाट काठमाडाँै, पोखरालगायत बाहिरी जिल्लामा गएर जाँच गर्ने र औषधि सेवन गर्नेको संख्या पनि उल्लेख्य रहेको छ ।
