
धनुषा : तारापट्टी सिर्सिया निवासी शोभा मण्डल एचर्आभी एड्सबाट संक्रमित भएको १५ वर्षभन्दा बढी भएको छ । योबीचमा उनका संक्रमित श्रीमान्को ज्यान गयो ।
भारतको दिल्लीमा काम गर्ने क्रममा श्रीमान्बाट संक्रमित भएको बताउने शोभा श्रीमान् गुमेपछिको पीडाभन्दा समाजले गरेको तिरस्कारले आफू पटकपटक मरेर बाँचिरहेको बताउँछिन् ।
“श्रीमान् संक्रमणको केही वर्षमै बित्नुभयो तर म बाँचेर पनि पलपल मरिरहेकी छु”, शोभाले भनिन्, “रोगसँग त औषधि सेवन गरेर लडिरहेकी छु तर समाजसँग लड्न निकै चुनौतीपूर्ण हुँदोरहेछ ।”
शोभाका अनुसार विगत १५ वर्षदेखि एचआईभी एड्सविरुद्धको एआरभी औषधि नियमित सेवन गरिरहेकाले जोखिमपूर्ण स्वास्थ्य समस्याबाट गुज्रिनुपरेको छैन । जसले आफ्नो जीविकोपार्जनका लागि काम गरिखान सजिलो छ । तर संक्रमित भएको थाहा पाएपछि काम नपाउने समस्याले उनलाई सताउन छोडेको छैन ।
“१५ वर्षअघि संक्रमणका कारण श्रीमान् बितेपछि मलाई र मेरो एउटा छोरालाई घरबाट निकालियो । छोरालाई संक्रमण छैन तर मलाई संक्रमण भएको थाहा पाएदेखि औषधि सेवन गर्न थालेकाले खासै समस्या छैन । समस्या मलाई हेर्ने दृष्टिकोणले छ”, शोभाले भनिन्, “ठेलामा भाजा र अण्डाको व्यापार सुरु गरे संक्रमित भनेर ग्राहक आएनन् । घरमा सरसफाइलगायतको काम गर्न थाले तर संक्रमित भएको थाहा पाएकै दिन हटाइ दिए । एउटा डाक्टरले त्यही व्यवहार गरे । मैले के गरेर खाने, कसरी बाँच्ने ?”
धनौजी गाउँपालिका–१ की सञ्जयकुमारी दास पनि एचआइभी एड्सबाट संक्रमित हुन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायकी दास विगत चार वर्षदेखि नियमित औषधि सेवन गरिरहेकी छिन् । अल्पसङ्ख्यक भएकाले समुदायबाट अपहेलनाको अवस्था त थियो नै, त्यसैमा एचआइभी संक्रमण भएपछि उहाँ आफ्नै समूहका साथीहरूबाट तिरस्कारमा परेको बताउँछिन् ।
“हामीले त नाचेरै आफ्नो जीविको चलाउने हो तर त्यो पेशा पनि संकटमा परेपछि विदेश जाने सोचले चार वर्षअघि स्वास्थ्य परीक्षण गराउँदा रोग लागेको थाहा पाए । त्यही बेलादेखि औषधि खाइरहेकी छु”, सञ्जयकुमारीले भनिन्, “औषधि खाएर बाँच्न सजिलो छ तर समाज, साथीभाइले गर्ने हेलाले थप पीडा दिँदो रहेछ । समस्यामा सहयोग गर्नुको सट्टा उल्टै हतोत्साहित गर्ने प्रवृतिले रोगले भन्दा पनि बढी पिरोलिरहेको छ ।”
यौनिक तथा अल्पसङ्ख्यकको क्षेत्रमा कार्यरत अभियन्ता सत्यनारायण साह यो समुदायको संक्रमित संख्या तीन सयभन्दा बढी रहेको बताउँछन् । “एकातिर फरक लिङ्गको हुनुको तिरस्कार र पीडा, त्यसैमा एचआइभी संक्रमित भएपछि यौनिक तथा अल्पसङ्ख्यकले थप तिरस्कृत हुनुपरेको छ । त्यसैले सरकारले विशेष रुपमा आत्मसम्मान बढाउने जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नसक्नुपर्दछ”, सत्यनारायणले भने ।
मधेस प्रदेशमा यसरी संक्रमित जीवन बिताउनेको संख्या चार हजार एक सय ६२ रहेको छ । त्यसमध्ये तीन हजार नौ सय २६ जनाले नियमित औषधि सेवन गरिरहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार नियमित औषधि सेवा गर्ने मध्ये १८ वर्ष मुनिका बालबालिकाको संख्या एक सय ७६ रहेको छ भने तीमध्ये ६५ जना बालिका, १६ जना बाबुआमा दुबै नरहेका, ६५ जना बाबु वा आमामध्ये एकमात्र रहेका र १२ वर्षमुनीका एक सय चार बालबालिकाहरू रहेका छन् ।
औषधि सेवन गर्नेहरूमध्ये सबैभन्दा बढी पर्सामा एक हजार दुई सय ८७, धनुषामा सात सय ६८, सर्लाहीमा चार सय ७०, सिरहामा तीन सय ५१, रौतहटमा तीन सय ४९, महोत्तरीमा तीन सय ३७, बारामा एक सय ९१ र सप्तरीमा एक सय ७३ जना छन् ।
निर्देशनालयका प्रमुख राजीवकुमार विगतको तुलनामा एचआइभी एड्सका बारेमा धेरैले जानकारी पाएको र संक्रमितप्रति गर्ने व्यवहारमा पनि सुधार हुँदै गएको बताउँछन् । उनी भन्छन्, “अवस्था सुधारोन्मुख छ तर समुदायस्तरमा नै संक्रमित बढी अपहेलित हुने भएकाले समुदायलाई नै परिचालन गरेर अभियान सुरु गर्नुपर्छ भन्ने ध्येयले सरकार लागि रहेको छ । त्यही नीतिअनुसार हामी यस प्रदेशमा रहेका संक्रमितको सम्मानित र सहज जीवनयापनका लागि आठै जिल्लामा काम गरिरहेका छौँ ।”
मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादव समुदायले गर्ने असल व्यवहारले संक्रमितको आत्मबल बढ्न गई रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने भएकाले सबै मिलेर सहयोग गर्नुपर्ने बताउँछन् । “देशभरी नै एचआइभी जाँच तथा औषधि निःशुल्क प्रदान भइरहेको छ । आम संक्रमितले त्यसबाट लाभ लिनुपर्छ तर समाजले पनि रोगीलाई हेयको भावनाले नहेरी सहयोग गरेमा औषधिले थप प्रभावकारी काम गर्छ भन्ने बुझ्नुपर्दछ”, उनले भने ।
प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद यादव पनि संक्रमणका कारणबारे सचेत रहँदै संक्रमितसँग असल व्यवहार गर्न जरुरी रहेको बताउँछन् । “कुनै पनि रोग लागेका वा समस्यामा परेका मान्छेलाई थप सहयोग र सद्भाव गर्नुपर्दछ । त्यसले संक्रमितमा आत्मबल वृद्धि भई खुलेर आउन र आयु बढाउन पनि सहयोग पुग्छ”, मन्त्री सिंहले भने, “त्यसैकारण एचआइभी संक्रमितलाई अरु नागरिक सरह सम्मानित जीवनयापनको अवस्था बनाउन सबैले सहयोग गरौँ ।”
मन्त्री यादवले संक्रमित परिवारको जीविकोपार्जनका लागि सीपमूलक तालिम र बालबालिकाको जीवननिर्वाहका लागि मासिकरुपमा दिइँदै आएको एक हजार सहयोग रकम प्रदेश सरकारले निरन्तर दिनेसमेत बताए ।
३६औँ विश्व एड्स दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले यहाँका आठै जिल्लामा आर्थिक वर्ष २०७९÷८० का कूल ४३ हजार चार सय ७५ जनामा गरिएको परीक्षणमा एक दशमलव ४५ अर्थात् छ सय छ जनामा संक्रमण भेटिएको पनि जनाएको छ । यो विगतका वर्षभन्दा घट्दो संख्या हो । अघिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा आव २०७६/७७ मा १४ हजार छ सय दुई जनामा परीक्षण गर्दा चार सय (२ दशमलव ७), ०७७/७८ मा २५ हजार नौ सय ७८ मा परीक्षण गर्दा चार सय ७५ (एक दशमलव आठ) र ०७८/७९ मा ३६ हजार २६ जनामा परीक्षण गर्दा छ सय ७५ (एक दशमलव नौ) जनामा संक्रमण भेटिएको थियो ।
यहाँ प्रदेशभरि एउटा निजी र नौ वटा सरकारी गरी १० वटा जाँच तथा परामर्श केन्द्र, सोही संख्यामा उपचार केन्द्र, आठ वटा निःशुल्क औषधि वितरण केन्द्र (सबै गैरसरकारी), एउटा (नारायणी अस्पताल, वीरगञ्ज) लागूपदार्थको मौखिक पद्धतिद्वारा उपचार र एउटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मात्रै भाइरल लोड परीक्षण केन्द्र रहेको जनाइएको छ । संक्रमित आमाबाट जन्मिने बच्चामा एचआइभीको संक्रमण रोकथामसम्बन्धी सेवा भने सबै स्वास्थ्य संस्थामा उपलब्ध रहेको निर्देशनालयले जनाएको छ ।
