‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’

143
0
Share:

चितवन : बेलका नगरपालिका–१ आम्बासीकी बालकुमारी प्रधानले कमाउँदै आएको जग्गाको जग्गा धनी पूर्जा पाउने आश गरेको धेरै समय बित्यो । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन उदयपुरबाट चितवन आएकी उनी पूर्जा पाउने आशमा मञ्चका विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छिन् ।

 

जन्मघरदेखि कर्मघरसम्म भूमिहीन भएका कारण आन्दोलनमा उत्रिनु परेको प्रधानले बताइन् । राज्यले आफूहरूलाई जग्गा धनी पूर्जा दिन्छ भन्ने आश मर्न थालेको उनको भनाइ थियो । उनले भनिन्, “पाउने आश भए त ढुक्कसँग घरमा नै बसिन्थ्यो । राजनीतिक खिचातानीका कारण सम्भावना निकै कम भएकाले विभिन्न भूमि अधिकारको कार्यक्रममा हिँड्नु परेको छ । पूर्जा पाउने पूरै आश भने मारेको छैन ।”

 

आफूसँगै गाउँमा पाँच सय घर सुकुम्बासी रहेको प्रधानले जानकारी दिइन् । आफूले चार कठ्ठा जग्गा कमाएर खाँदै आए भन्दै त्यसको अधिकार आँफूसँग नहुँदा मन दुखेर खिन्न लाग्ने गरेको उनको भनाइ थियो । उनले थपिन् “आफू त जन्मेदेखि मर्ने बेलासम्म भूमिहीन भइयो आउने पुस्तामा यस्तो नहोस् भन्ने लाग्छ ।”

 

यस्तै पीडा छ बर्दियाको बडैयाताल गाउँपालिका–६ मैनापोखरका केशबहादुर विकको । तीन पुस्तादेखि मैनापोखर बस्दै आउनुभएका उहाँ अहिले पनि भूमिहीन छन् । बाजेले कमाएको जमिन भाग लगाउँदै गर्दा आफ्नो भागमा १५ धुर घडेरी मात्रै परेको बताउने विकले अहिलेसम्म पनि आफ्नो नाममा पूर्जा नहुँदा निकै पीडा हुने गरेको दुखेसो पोखे ।

 

विकले भने “आयोगले नापजाँच गर्छ तर पछि वन र खोलाको क्षेत्र भनेर हामीलाई दिँदैन ।” आफ्नो १३ जनाको परिवार यही जग्गाबाट उब्जेको अन्नबाट जीविकोपार्जन गरिरहेको बताउँदै उनले बडैयाताल–६ मा १४ घरधुरी आफूजस्तै भूमिहीन परिवार रहेको जानकारी दिए ।

 

वर्षौदेखि कमाएको जमिनको पूर्जा पाउनुपर्छ भन्ने माग उनको रहेको छ । भूमि अधिकार सम्बन्धी कुनै कार्यक्रम हुँदा पूर्जा पाउने झिनो आशमा उनी पुग्दै आएका छन् ।

 

आफू बस्दै आएको जमिन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रका परेपछि विसं २०४२ मा बर्दियाकै गुलरिया नगरपालिका–१ कमलपुरमा पुगेका मनबहादुर सुनार आँफूले कमाउँदै आएको जग्गा अर्काले मेरो हो भनेर दाबी गरेपछि थप पीडामा छन् ।

 

उनीसँगै आएका अन्यले जग्गा धनी प्रमाण पूर्जाको प्रक्रियामा रहदा आफू भने अहिलेसम्म पनि अलमल परेको सुनारले गुनासो गरे । उनले भने, “सबैले आ–आफ्नो जग्गा भनेर अधिकार जमाएका छन् । मैले कमाएको जग्गा अर्कैको नाममा छ भनेर समयसमयमा दुःख दिन आउँछन् । भूमिहीन त छदैछु त्यसमाथि पनि थप पीडा भइरहेको छ ।”

 

त्यसैगरी धनुसाका कण्ठा दमाइँ (इच्छाराम परियार) विसं २०४२ देखि मिथिला नगरपालिका–१० लालगढमा बस्दै आएका छन् । आफ्नो श्रम बेचेर घरपरिवार चलाउँदै आउनुभएका उनी दुई कठ्ठा जग्गामा बसोबास गर्दै आएका छन् । परिवार चलाउनसमेत मिहेनत गर्नुपर्ने भन्दै उनले पूर्जा पाउने आशमा आफ्नो जिन्दगी सकिएको बताए ।

 

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पूर्जा वितरण गर्ने काम भइरहेको बताए । विभिन्न ऐन र कानुनका कारण भूमिहीन किसानलाई पूर्जा वितरण गर्न समस्या भएको भन्दै यसको दीर्घकालीन समाधान हुने गरी आयोगले काम गर्दै आएको उनले बताए ।

 

निरौलाका अनुसार १३ लाख ५० हजारले फर्म भरेकामा १० लाखको मात्र दर्ता भएको छ । दुई लाख २१ हजारको किस्ताकाट भइसकेको भन्दै हालसम्म पाँच हजारले मात्र जग्गाधनी पूर्जा पाएका उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: