
काठमाडौ, जेष्ठ ८ – उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षा तोकिएकै समयमा सम्पन्न हुने जनाएको छ । महाभूकम्पका कारण एक महिनापछि परीक्षा सारिएको र विद्यार्थीले अझै सार्न माग गरेपछि परिषद्ले उक्त कुरा स्पष्ट पारेको हो ।
तालिकाअनुसार कक्षा १२ को परीक्षा यही जेठ २० गतेबाट ३१ गते सम्म र कक्षा ११ को परीक्षा असार १ गतेबाट १२ गतेसम्म तोकिएको छ । विद्यार्थीले परीक्षार्थीहरु भूकम्पमा परेर घाइते भएका, घरबासको ठेगान नभएको भन्दै परीक्षा सार्न माग गरेका छन् । तालिकाअनुसार परीक्षा सञ्चालन नभएमा नतिजा समयमा आउन नसक्ने र एक वर्ष ढिलाइ हुने परिषद्ले जनाएको छ ।
‘फेरि परीक्षा सार्ने हो भने ९ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेछ,’ परिषदका सदस्यसचिव नारायण कोइरालाले ईकान्तिपुरसित भने, ‘किनभने बर्खामास लाग्दैछ । अहिले सञ्चालन हुन नसकेमा सबैको परीक्षा एक वर्ष पछाडि धकेलिनेछ ।’ उनले परीक्षा सञ्चालनको तयारी थालिएको र विद्यार्थीहरुलाई पनि परीक्षाको तयारीमा जुट्न आग्रह गरे ।
परिषदले भूकम्पबाट बढी प्रभावित सात जिल्लामा भने केही समय ढिलो गरी परीक्षा लिने भनेको छ । ती सात जिल्लामा गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप परेका छन् ।
