
कास्की : पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ।
उपचारका लागि मणिपाल भर्ना भएका तनहुँका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए।
ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो। मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए।
खोजतलासका क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ।
त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो प्रहरीले जनाएको छ। प्रहरीले मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको हो।
