
बाजुरा : जिल्लाका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । रकम विपद् व्यवस्थापन कोषमा पठाएको उनले जानकारी दिए । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।
प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले ती क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताए ।
प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उनले जानकारी दिए । निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार ५०९ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको उनले बताए ।
खप्तड छेडेदह गाउँपालिकामा ९६६, त्रिवेणी नगरपालिकामा ११३, गौमूल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा २२७ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।
