वर्षौंको कोभिड पीडापछि सन् २०२४ मा महामारी सम्झौताका लागि डब्लुएचओको आग्रह

Share:

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले मङ्गलबार विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन् ।

 

सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।

 

उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे ।

 

उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए । “तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ”, उनले भिडियो सन्देशमा स्मरण गर्दै भने ।

 

टेड्रोसले १० महिनापछि डब्लुएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए । यस वर्ष डब्लुएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ ।

 

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए । “यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो”, उनले भने ।

 

उनले इजरायलमाथि हमासको ‘बर्बर’ हमलाका बारेमा कुरा गर्दै भने, “यसपछि गाजामा विनाशकारी हमला भयो ।” इजराइली आँकडाअनुसार हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० जना मारिएपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरू भएको हो । हमासले दुई सय ५० मानिसलाई बन्धक बनाएको छ । तीमध्ये एक सय १९ जना गाजाभित्रै रहेका छन् ।

 

इजरायलले व्यापक हवाई बमबारी र स्थल आक्रमण सुरू गरेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २० हजार नौ सय १५ जना मारिएका छन् । महानिर्देशक टेड्रोसले तत्काल युद्धविरामका लागि डब्लुएचओको आह्वानलाई जोड दिँदै भने, “गाजामा मानिसहरूको आवश्यकता पूरा गर्न राहत प्रयास पुग्न सकिरहेको छैन ।”

 

“विश्वभर ४० भन्दा धेरै प्रकोपहरूसँगै हैजाको पुनरुत्थान विशेषरूपमा चिन्ताजनक छ”, उनले भने ।

 

डब्लुएचओको ७५औँ वर्ष समापन गर्दै उनले आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीमा कमी कायमै रहेको बताए । “तर राष्ट्रहरूले महामारीको खतराहरूमा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ”, उनले भने, “विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि महामारी सम्झौताको डिजाइन गरिएको छ ।”

कमेन्ट गर्नुहोस्
Share: