
काठमाडौं, जेठ १३ –
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका केहि उच्च अधिकारीहरुलाई स्वीट्जरल्याण्डमा प्रहरीले पक्रेको छ । अमेरिकाको न्याय विभागको अनुरोधमा स्वीट्जरल्याण्डको प्रहरीले उनीहरुलाई जुरिचको एक होटलबाट पक्रेको हो । पक्राउ पर्नेमा उपाध्यक्ष क्यामन आइल्याण्डका जेफ्री वेब्ब, उरुग्वेका युजिनिओ फिगुर्डो, ट्रिनिडाड एण्ड टोबागोका ज्याक वार्नरसहितका अधिकारी छन् ।
अमेरिकाका एफबिआईले फिफामा अनियमिता भएको भन्दै त्यसबारेमा अनुसन्धान गरिरहेको थियो । अनियमितता गरेकै आरोपमा उनीहरु पक्राउ परेका हुन् । फिफा अध्यक्ष सेप ब्लाटरले आफूहरुमाथि एफबिआईले अनुसन्धान गरिरहेको बताएका थिए । जुरिचमा फिफाका अधिकारीहरु वार्षिक साधारणसभाका लागि भेला भएका थिए । झण्डै १२ जना सादा पोशाकका प्रहरीले गएर उनीहरुलाई पक्रेका हुन् । पक्राउ परेकाहरुलाई पर्दाले छेकेर गाडीमा राखिएको थियो । यो साधारणसभाले फिफाको नयाँ नेतृत्व चयन पनि गर्ने छ । वर्तमान अध्यक्ष सेप ब्लाटर र जोर्डनका राजकुमार अलि विन अल हुसेन अध्यक्षको दावेदार छन् । उनीहरु भने पक्राउ परेका छैनन् ।
– न्यूयोर्क टाइम्सको सहयोगमा
